काठमाडौं ।
नेपालको श्रम बजारलाई व्यवस्थित बनाउने उद्देश्यसहितको परियोजना कार्यान्वयन गर्ने विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिश काउन्सिलबीच भएको सम्झौता कार्यान्वयनका लागि साझेदार संस्थाहरूबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । चार साझेदार संस्थाहरू नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल साना तथा घरेलु उद्योग महासंघ र होटल संघ नेपालका प्रतिनिधिहरूबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विष्णु अग्रवाल, नेपाल साना तथा घरेलु उद्योग महासंघका महासचिव डम्बर रेग्मी र होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाली श्रमबजारको अध्ययन अनुसन्धान र तथ्यांक संकलनका लागि उक्त परियोजना निकै प्रभावकारी हुने विश्वास गरिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको तर्फबाट कार्यक्रममा वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए । कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै संस्थाबाट दुई/दुई जना प्रतिनिधि रहने गरी प्रोजेक्ट–कोअर्डिनेसन कमिटी गठन गरिएको छ । कार्यक्रम उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा भएको थियो ।