काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी नहुने बताएका छन् । ललितपुरको गोदावरी नगरपालिकामा बज्रबाराही चापागाउँ अस्पतालको १५ श्ययाको भवन निर्माणको शिलान्यास गर्दै उनले तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले ५७ अर्ब ९७ करोड रुपैयाँबराबरको स्रोत सुनिश्चित गरेको जानकारी दिए । उनले स्वस्थसँग बाँच्न पाउनुपर्ने संविधानको मौलिक हकअनुसार स्थानीय तहमा सुविधासम्पन्न पूर्वाधार, डाक्टर, स्वास्थ्यकर्मी, स्वास्थ्य उपकरणको उपलब्धताका लागि महाअभियानका रुपमा स्थानीय तहहरुमा एकसाथ आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको बताए ।
अर्थमन्त्री पौडेलले १८ करोड रुपैयाँको सीमामा रहेर १५ श्ययाको अस्पताल निर्माण गर्न सकिने भन्दै पूर्वनिर्धारित समय दुई वर्षअघि नै निर्माणकार्य सम्पन्न गर्नेगरी काम गर्न आग्रह गरे । उनले अस्पताल निर्माण गर्दा लागत, गुणस्तरीयता र समयमा काम सक्ने कुरालाई विशेष ध्यान आग्रह गरे । अर्थ मन्त्रालयले एक हप्ताअघि पाँच, १० र १५ श्ययाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको थियो ।
अर्थ मन्त्रालयले स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माणका लागि छ अर्ब १२ करोड २६ लाख रुपैयाँ स्थानीय तहमा पठाइसकेको छ । अर्थमन्त्री पौडेलले सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५०/५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन ५६ करोड रुपैयाँको व्यवस्था गरिएको जानकारी दिए । ‘अस्पताल निर्माणको कार्य अघि बढ्दै जाँदा थप बजेटको निकासा हुन्छ । बजेटको अभाव हुँदैन’, अर्थमन्त्री पौडेलले भने ।