काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले स्क्यान एन्ड विथ ड्र सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एपमार्फत बैंकको काउन्टरमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् । स्क्यान एन्ड विथ ड्रमार्फत काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी चेकको प्रयोगबिना नै खाताबाट रकम झिक्न सकिनेछ । बैंकले यो सेवा देशभरिका एक सय पाँचवटै शाखा कार्यालयबाट एकैपटक सुरुवात गरेको छ । सो सेवा सञ्चालनपश्चात् ग्राहकहरूले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटीएम कार्ड बोकिरहनुपर्ने छैन ।
आधुनिक बैंकिङ प्रविधिलाई आत्मसात् गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याइएको हो । बैंकले हाल एक सय पाँचवटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ । हालसम्म बैंकले तीन लाखभन्दा बढी खाताबाट करिब ४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई करिब ३४ अर्ब ६० करोड लगानी गर्न सफल भएको छ ।