सुबास बस्नेत
दोलखा, पुस १७
दोलखामा किबी महोत्सवको आयोजना गरेर भ्रमण वर्ष २०२० को स्वागत गरिएको छ । नेपालमा नै पहिलो पटक आयोजना गरिएको किबी महोत्सव सदरमुकाम चरिकोटमा बुधबारदेखि सुरु भएको हो । किबी फलको पहिचान र प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । तीन नम्बर प्रदेशका कृषिमन्त्री दोर्जे लामाले महोत्सवको उद्घाटन गर्दै दोलखाको कृषि क्षेत्रमा किबी उत्पादनलाई चासो दिएर लगानी गरिरहेको बताए । दोलखामा उत्पादन हुने कृषि वस्तुको नेपालबाहिर पनि धेरै चर्चा हुनेगरेको उनको भनाइ थियो । किबी फल भण्डार गर्न प्रदेश सरकारले ठूलो लगानी गरेर कोलस्टोर निर्माण गरेको उनले बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले भ्रमण वर्षमा पर्यटकहरूलाई आकर्षण गराउन दोलखामा धेरै पर्यटकीय गन्तव्यहरू रहेको भन्दै सबै स्थानीय तहलाई सक्रिय भएर प्रचारप्रसार गर्न आग्रह गरे । कार्यक्रममा महोत्सव आयोजक भिमेश्वर नगरपालिकका मेयर भरत केसीले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर धेरै पर्यटक भित्र्याउने उद्देश्यले किबी महोत्सवको आयोजना गरेको बताए । दोलखामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले दोलखामा उत्पादन हुने विभिन्न कृषिजन्य वस्तुको अवलोकन गर्न पाउने महोत्सव आयोजकले जनाएको छ ।
एक सातासम्म चल्ने किबी महोत्सवमा किबी फलको स्टल राखिनुका साथै किबीको उपयोगिता, उत्पादनको अवस्थाबारे दैनिक चर्चा गरिने नगरपालिकाले जनाएको छ । साथै महोत्सवमा अन्य घरेलु उत्पादनका सामानहरूको स्टल राखेर महोत्सवको अवलोकन गर्न आउने पर्यटकलाई स्थानीय परिकार तथा उत्पादनको स्वाद चखाउने बताइएको छ ।