पेरिस, पुस १७
युरोपेली विमान निर्माता एयरबसले सन् २०११ यता पहिलोपटक अमेरिकी विमान निर्माता बोइङलाई विमान आपूर्तिमा उछिनेको छ । रोयटर्सका अनुसार एयरबस आठ वर्षयता पहिलोपटक ठूलो विमान निर्माता कम्पनी भएको हो । कम्पनीले सन् २०१९ मा ८ सय ६३ वटा विमान आपूर्ति गरेको छ । यो अनुमान गरिएभन्दा धेरै हो ।बोइङका ७३७ म्याक्स श्रेणीका विमानमा सफ्टवेयर समस्या देखिएपछि व्यवसाय नै खस्किएका बेला प्रतिस्पर्धी कम्पनीले पछाडि छोडेको बताइएको छ ।
विमान निर्माताहरुको बजार हिस्सामा पकड जमाएको एयरबसले ८ सय ६० वटा जेट बजार पठाउने लक्ष्य राखेको थियो । कम्पनीले सन् २०१८ मा ८ सयवटा विमान आपूर्ति गरेकोमा सन् २०१९ मा ७.९ प्रतिशतले वृद्धि गरेको हो । निर्मित विमान आपूर्तिपछि विमान निर्माता कम्पनीले अधिकांश आम्दानी गर्ने गरेका छन् । बोइङले जनवरी र नोभेम्बरको बीचमा ३ सय ४५ वटा जेट आपूर्ति गरेको थियो । जुन सन् २०१८ को सोही अवधिभन्दा कम हो । उक्त अवधिमा कम्पनीले ७ सय ४ वटा विमान आपूर्ति गरेको थियो ।