काठमाडौँ ।
सिभिल क्यापिटल मार्र्केट्स लिमिटेडले १२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आइतबार सीटीसीमल, सुन्धारा, काठमाडौँंमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले साधारण प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७६/७७को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतका दरले हुन आउने करसहित एक करोड छ लाख २५ हजार मात्र नगद लाभांश वितरण गर्ने प्रस्तावहरू पारित गरेको छ ।
सभाले विशेष प्रस्तावअन्तर्गत सम्बन्धित निकायको स्वीकृतिलिई संस्थागत परामर्शदाता सेवाअन्तर्गत व्यावसायिक योजना, लोन सिन्डिकेसन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी, हेज फण्डजस्ता कोषहरू सञ्चालन, सम्पत्ति व्यवस्थापनलगायतका सम्बन्धित सेवाहरू प्रदानगर्ने साथै आफ्ना ग्राहकहरूको बीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरू समेत स्वीकृत गरेको छ ।
छिटो छरितो तथा ग्राहकमुखी सेवा दिँदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामीदिनहरूमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदानगरी विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरेको छ । निष्काशन तथा बिक्री प्रबन्धकसँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, ५५ हजारभन्दा माथि डीम्याट (डीपी) सेवा, नौवटा कम्पनीको सेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताएका छन् ।