काठमाडौँ ।
करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाइल बैंकिङदेखि सहजै भुक्तानी गर्नसक्ने भएका छन् । करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन–पे नेटवर्कमा आबद्ध कुनै पनि बैैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्न सकिने भएको हो । मोबाइल बैंकिङमार्फत कर भुक्तानी गर्ने विषयमा एभरेष्ट बैंक र फोन–पे पेमेन्ट सर्भिस लिमिटेडका बीचमा सम्झौता समेत भएको छ । सम्झौतापत्रमा एभरेष्ट बैंकका तर्फबाट सहायक महाप्रबन्धक आशुतोष शर्मा र फोन–पेका तर्फंबाट प्रमुख टेक्नोलोजी अफिसर दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।
करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवाशुल्क मोबाइल बैंकिङबाट सहजै भुक्तानी गर्न सकिनेछ । मोबाइल बंैकिङमै यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ ।
फोन–पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन् भने एक लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन् । ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाखभन्दा बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोन–पे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्रीटूवान प्रमाणीकरण प्राप्त संस्था हो ।