काठमाडौं ।
प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगलाई आधार बनाई सञ्चालन गरिएको ‘फाइभ पी नेपाल इन्टरनेशनल एक्स्पो–२०२१’ बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने एक्स्पोको बुधबार एक समारोहका बीच भर्चुअल माध्यमबाट उद्घाटन गरिएको थियो । विगत वर्षहरुमा भौतिक रुपमा एक्स्पोको आयोजन गर्ने गरिएको भए पनि यस वर्ष कोभिड १९ को कारण भर्चुअल माध्यमबाट एक्स्पोको आयोजना गरिएको हो ।
उक्त एक्स्पोमा प्रिन्टिङ, प्याकेजिङ, पेपर, प्लास्टिक र प्रोसेसिङ उद्योगसँग सम्बन्धित नेपाल, भारतलगायत विभिन्न देशका उद्योगहरुले आफ्ना उत्पादन तथा प्रविधिहरुलाई प्रदर्शनमा राखेका छन् । साथै उद्घाटनकै क्रममा करिब एक हजार जनाले भर्चुअल माध्यमबाट प्रदर्शनीको अवलोकन गरेका थिए । परिवर्तित समयअनुसार विभिन्न उद्योगको क्षेत्रमा समेत प्रविधिको तीव्र रुपमा विकास र परिवर्तनहरु भएकाले उक्त एक्स्पो नयाँ प्रविधिका विषयमा ज्ञान लिन र अनलाइनको माध्यमबाट खरिद तथा बिक्री गर्न राम्रो अवसर रहेको विश्वास आयोजक तथा सहभागीहरुले गरेका छन् ।
एक्स्पोको उद्घाटन भारतका उद्योग तथा व्यापार विभागका निर्देशक आलोक मालभीया, नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव अभिशेख उपाध्याय, नेपाल मुद्रण उद्योग महासघका अध्यक्ष पुस्कल गौतम, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, भारतीय चेम्बर अफ कमर्सका विदेश विभाग अध्यक्ष नवीन सर्दनाले गरेका थिए । आयोजक संस्था फ्युचरेक्स ट्रेड एन्ड इभेन्टका म्यानेजिङ डाइरेक्टर प्रेम अनवेशी र सुजल भट्टराईलगायतका वक्ताहरुले एक्स्पोको महत्वबारे जानकारी गराएका थिए ।