काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २३ सय ७४ दशमलव ६४ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दशमलव ५९ अंकमा पुगेर रोकिएको छ । यस साता धितोपत्र बजारमा दुई सय ११ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार दुई लाख ७३ हजार ६३ पटकको कारोबारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच १० अर्ब रुपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा दुई सय आठवटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुुसार दुई लाख एक हजार सात सय ४३ पटकको कारोबारमा पाँच करोड ५४ लाख १२ हजार छ सय ९५ कित्ता सेयर खरिदबिक्री हुुँदा कारोबार रकम २२ अर्ब ७४ करोड ८२ लाख ६० हजार नौ सय ५७ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो दिन बजार परिसूचक ओरालो लागेको भए पनि बाँकी दिनहरूमा भने उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक २८ दशमलव ४६ अंकले उकालो लागेर २३ सय १५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव १७ अंकले उकालो लागेर चार सय ४३ दशमलव ४२ अंकमा चढेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक १७ दशमलव ३१ अंकले उकालो लागेर दुई हजार तीन सय ३२ दशमलव ३१ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १८ अंकले उकालो लागेर चार सय ४५ दशमलव ६० अंकमा चढेको थियो । तेस्रो दिन भने बजार परिसूचक पाँच दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार तीन सय २६ दशमलव ९० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले ओरालो लागेर चार सय ४२ दशमलव ८२ अंकमा झरेको थियो ।
चौथो दिन भने बजार परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर दुई हजार तीन सय ४२ दशमलव ७६ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंकले उकालो लागेर चार सय ४३ अंकमा चढेको थियो । अन्तिम कारोबार दिन पनि बजार परिसूचक ३१ दशमलव ८७ अंकले उकालो लागेर २३ सय ७४ दशमलव ६४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव एक अंकले उकालो लागेर चार सय ४५ दशमलव ५९ अंकमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, प्रभु बैंक, नेपाल पुनर्बीमा कम्पनी आदि परेका छन् भने कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक, सिभिल बैंक, कुमारी बैंक, नेपाल बंगलादेश बैंक आदि परेका छन् ।
बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । सूचीकृत सेयरतर्फ भने यस साता एनआईसी एसिया बैंक र बैंक अफ काठमाडौँको बोनस सेयर सूचीकृत भएका छन् ।