काठमाडौं ।
सेयर बजार परिसूचक २४ सय अंकबाट पनि उकालो लागेको छ । साताको सुरुवाती कारोबार दिन आइतबार नै बजार परिसूचक ५० दशमलव दुई अंकले उकालो २४ सय २४ दशमलव ८४ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४७ अंकले उकालो लागेर चार सय ५२ दशमलव छ अंकमा चढेको छ । यसदिन १२ वटा उपसमूहअन्तर्गतका दुई सय सातवटा कम्पनीहरूको सेयर किनबेच भएको छ । जसबाट ७९ हजार चार सय ९८ पटकको कारोबारमा एक करोड ९३ लाख ७९ हजार ४२ कित्ता सेयर किनबेच भएका छन् । यसबाट एकै दिन नौ अर्ब ३७ करोड ६० लाख ५३ हजार दुई सय २० रुपैयाँ कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन कारोबार भएका कुल उपसमूहमध्ये टे«डिङ उपसमूहको सूचक ७३ दशमलव ३५ अंकले ओरालो लागेर २८ सय ९४ दशमलव १७ अंकमा झरे पनि बाँकी समूहको सूचक भने उच्च अंकले उकालो लागेका छन् । सोमध्ये वाणिज्य बैंक उपसमूहको सूचक २१ दशमलव ३६ अंकले उकालो लागेर १७ सय ४५ दशमलव ४२ अंकमा चढेकोमा भने विकास बैंक उपसमूहको सूचक पनि २० दशमलव ८१ अंकले उकालो लागेर २५ सय ७६ दशमलव ७८ अंकमा चढेको छ । जलविद्युत् उपसमूहको सूचक पनि ५१ दशमलव १३ अंकले उकालो लागेर १९ सय २९ दशमलव ४९ अंकमा चढेकोमा लघुवित्त उपसमूहको सूचक पनि एक सय दुई दशमलव ५३ अंकले उकालो लागेर चार हजार एक सय १० दशमलव ९८ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा उपसमूहको सूचक पनि दुई सय २१ दशमलव ६१ अंकले उकालो लागेर ११ हजार सात सय छ दशमलव ३२ अंकमा चढेकोमा जीवन बीमा उपसमूहको सूचक पनि एक सय ६५ दशमलव ६८ अंकले उकालो लागेर १६ हजार नौ सय ४८ दशमलव ६५ अंकमा चढेको छ । यीबाहेक होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचकहरू पनि क्रमशः २४ दशमलव ५१, १४ दशमलव १५, ५१ दशमलव ५६, एक सय चार दशमलव ७५ र शून्य दशमलव शून्य पाँच अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सात सय ९२ रूपैैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पनि १० प्रतिशतले बढेर आठ सय १४ रुपैयाँमा किनबेच भएको छ ।
यीबाहेक पोखरा फाइनान्स, नागरिक लगानी कोष आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको भने यसदिन प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले घटेर छ सय २७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईबीएल प्रगति फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ९९ प्रतिशतले घटेर ११ रुपैयाँ ४२ पैसामा किनबेच भएको छ । यीबाहेक स्वरोजगार लघुवित्त वित्तीय संस्था, जानकी फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता २८ सय ४९ रुपैयाँ अन्तिम मूल्यमा ६६ करोड ८२ लाख ७३ हजार एक सय ९५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको पनि प्रतिकित्ता १५ सय ७६ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ७९ लाख ५१ हजार चार सय ९२ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल टेलिकम, प्राइम कमर्सियल बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।