काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको वाग्मती प्रादेशिक कार्यालय उपप्रमुख विदुर ज्ञवाली र भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष डिल्लीप्रसाद थपलियाले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्लोबल आईएमई बैंकले भण्डारालगायत चितवनका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने भण्डारा दुग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ ।
मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले सातवटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखा, दुई सय ४० वटा एटीएम, दुई सय ४४ वटा शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब आठ सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।