काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २४ सय २५ दशमलव २९ अंकमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४२ दशमलव छ अंकमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय नौवटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार तीन लाख ५७ हजार पाँच सय ९९ पटकको कारोबारमा नौ करोड ५७ लाख १४ हजार तीन सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ४४ अर्ब ४६ करोड ३९ लाख ९१ हजार पाँच सय ९६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै पाँच १० अर्ब रुपैयाँले बढी हो ।
गत साता धितोपत्र बजारमा दुई सय ११ वटा कम्पनीहरूको कारोबार भएका थिए । जसअनुसार दुई लाख ७३ हजार ६३ पटकको कारोबारमा आठ करोड नौ लाख २४ हजार छ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३४ अर्ब १६ करोड ५८ लाख ६६ हजार दुई सय ५६ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये तेस्रो र पाँचौँ दिन बजार परिसूचक ओरालो लागेको थियो भने बाँकी दिनहरूमा बजार परिसूचक उकालो लागेको थियो । पहिलो दिन बजार परिसूचक ५० दशमलव दुई अंकले उकालो लागेर २४ सय २४ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४७ अंकले उकालो लागेर चार सय ५२ दशमलव छ अंकमा चढेको थियो ।
दोस्रो दिन पनि बजार परिसूचक १६ दशमलव चार अंकले उकालो लागेर दुई हजार चार सय ४० दशमलव ८७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंकले ओरालोे लागेर चार सय ५१ दशमलव ८२ अंकमा झरेको थियो । तेस्रो दिन भने बजार परिसूचक पाँच दशमलव ५७ अंकले ओरालो लागेर दुई हजार तीन सय २६ दशमलव ९० अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८५ अंकले ओरालो लागेर चार सय ४२ दशमलव ८२ अंकमा झरेको थियो ।
चौथो दिन भने बजार परिसूचक १८ दशमलव ७६ अंकले उकालो लागेर दुई हजार चार सय ४१ दशमलव ८५ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव ८६ अंकले ओरालो लागेर चार सय ४६ अंकमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १६ दशमलव ५५ अंकले ओरालो लागेर २४ सय २५ दशमलव २९ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ३२ अंकले ओरालो लागेर चार सय ४२ दशमलव छ अंकमा झरेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंक, नेपाल पुनर्बीमा कम्पनी, शिखर इन्स्योरेन्स कम्पनी, एनआईसी एसिया बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेसनल हाइड्रोपावर कम्पनी, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक आदि परेका छन् । बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरू अगाडि परेका छन् ।
सूचीकृत सेयरतर्फ भने यस साता सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठ प्रतिशतको अनुपातमा ७२ लाख ७१ हजार आठ सय ५३ दशमलव ८३ कित्ता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौ दशमलव ५० प्रतिशतको अनुपातमा सात लाख ६० हजार सात सय चार दशमलव ५४ कित्ता र साल्ट ट्रेडिङ कर्पोरेसन नेपाल लिमिटेडको २५ प्रतिशतको अनुुपातमा तीन लाख ८४ हजार चार सय ८८ कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।