काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ग्राहकहरूलाई नगद प्रवाह व्यवस्थापनसम्बन्धी तालिम आयोजना गरिरहेको छ । ग्राहकहरूलाई व्यवसाय विस्तार र प्रवर्द्धन कार्यमा सहज बनाउनको लागि तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।
एरिया टेक्नोलोजी प्रालि र साउथ एसिया इन्सिच्युट अफ एड्भान्स स्टडिजसँगको सहकार्यमा संस्थाले आयोजना गरेको तालिममा करिब चार सय जना ग्राहकहरूलाई तालिम दिन सुरु गरिएको बट्टार अनुगमन कार्यालयका प्रमुख सरोज पण्डितले जानकारी दिए । त्यस्तै, शाखा कार्यालयहरू नुवाकोट जिल्लामा रहेका शाखा कार्यालयहरू बट्टार, रातमाटे, सातबिसे, रानीपौवा र कल्याणदेवीका व्यावसायिक क्रियाकलापहरूलाई विस्तार तथा व्यवस्थित बनाउनु तालिमको उद्देश्य रहेको बताए ।
सो तालिममार्फत व्यावसायिक लेखाजोखा सम्बन्धमा अनुसन्धानात्मक अध्ययन समेत रहेकोले सदस्यहरूलाई प्रविधिमैत्री बनाउन मुन्सी जी एपमार्फत सदस्यहरूका लागि नगदसम्बन्धी सम्पूर्ण हरहिसाब राख्नुका साथै व्यवसायको अवस्थाको बारेमा समेत चित्रण गर्न सकिने परियोजना, अनुसन्धान तथा विकास विभागका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
सो एपमार्फत नाफाघाटाको अवस्थाका साथै मासिकरूपमा खर्च, आम्दानी खर्चको शीर्षकमार्फत राख्न सकिने समेत जनाएको छ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रही देशका ५९ जिल्लामा एक सय २० वटा शाखा कार्यालयहरूमार्फत करिब एक लाख ३० हजार घरपरिवारहरूलाई वित्तीय सेवा पु-याउँदै आइरहेको छ ।