काठमाडौं ।
कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप बिहीबारसम्म एक लाख ५८ हजार चार सय ८७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका दुई सय एक खोपकेन्द्रबाट एक लाख ५८ हजार चार सय ८७ ले खोप लगाएको जानकारी दिए ।
प्रदेश–१ मा २१ हजार सात सय ५४, प्रदेश–२ मा २१ हजार एक सय ८५, वाग्मती प्रदेशमा ५५ हजार पाँच सय चार, गण्डकी प्रदेशमा १७ हजार दुई सय ६७, लुम्बिनी प्रदेशमा २३ हजार सात सय ९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार नौ सय सातले खोप प्राप्त गरेका छन् ।
मन्त्रालयले पहिलो चरणको खोप अभियान यही माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिई आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । यही माघ १४ गतेदेखि भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो ।
यसैबीच, देशभर बिहीबार थप १ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार आठ सय ७८ जनाको स्वास्थ्य परीक्षण गर्दा ५९ महिला र एक सय १२ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । बिहीबारसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७१ हजार छ सय दुई पुगेको छ । त्यस्तै पछिल्लो समय थप दुई सय २७ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको छ ।
अहिले देशभर दुई हजार दुई सय ७७ सक्रिय सङ्क्रमित छन् । उनीहरूमध्ये ९२ जना क्वारेन्टाइनमा रहेका छन् । दुई हजार दुई सय ७७ जना आइसोलेसनमा छन् । हालसम्म नेपालमा २० लाख ८५ हजार पाँच सय ७३ को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये ६१ जनाको आईसीयू र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।