जेरुसेलम ।
भ्रष्टाचारको आरोप लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जेरुसेलमस्थित जिल्ला अदालतमा सोमबार भएको सुनुवाइका क्रममा उनले आफूमाथि लगाइएका आरोपहरुप्रति आफू कुनै जिम्मेवार नभएको उल्लेख गरेका हुन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहु गतवर्षको मेपछि अहिले दोस्रो पटक अदालतमा उपस्थित भएको समाचारमा जनाइएको छ । अदालतबाट निस्किने क्रममा उनले भने, ‘मैले अदालतले माग गरेअनुसारको जवाफ लिखित रुपमा लेखेर पेश गरेको छु ।’
उनलाई अघिल्लो महिना जवाफ पेस गर्न अदालतले आदेश दिएको थियो । सुरुमा उनलाई जनवरी १३ मा जवाफ पेस गर्न आदेश दिइए पनि लकडाउनका कारण उनले अहिले मात्रै पेश गरेका हुन् । प्रधानमन्त्री नेतान्याहुलाई धेरै विषयमा भ्रष्टाचार गरेको आरोप लगाइएको छ । ती आरोपहरुमाथि अहिले अनुसन्धान पनि भइरहेको अधिकारीहरुले जनाएका छन् ।
उनलाई लगाइएको आरोपहरु सत्य सावित भएमा उनी १० वर्षभन्दा बढी कारागारमा बस्नुपर्ने कानुनी व्यवस्था रहेको छ । इजरायलमा आगामी मार्च २३ तारिखका दिन निर्वाचन गर्ने तयारी भइरहेको छ ।