काठमाडौं, पुस २२
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रौतहटको दोस्तीयामा पनि शाखारहित सेवा विस्तार गरेको छ । बैैकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गर्ने क्रममा रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका –०५ सन्तपुर दोस्तीयामा यहि पुस १८ गतेबाट १०३औं शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको हो । फतुवा विजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्तीदेवी महतोले सो शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेकी हुुन् । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी वृजकिशोरप्रसाद यादवलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
यो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरूको रकम भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरू उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको विस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले हाल देशैभरि फैलिएका आफ्ना ८५ वटा शाखा, ८५ वटा एटीएम र १०३ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरूसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाइजस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्तरूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सातवटै प्रदेशमा प्रादेशिक कार्यालयहरूको स्थापना गरिसकेको छ । ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।