सुबास बस्नेत दोलखा,पुस २२ दोलखा लगायत १३ जिल्लाको चर्चाको शिखर बनेको प्रदेश ३ को राजधानी तोक्ने विषय पछिल्लो समय चर्चामा पुगेको छ । सोही विषयलाई लिएर आजभोलि १३ जिल्लाभर बिरोध दबाबका कार्यक्रम दैनिक कार्यक्रम गरिरहेका छन् । प्रदेश ३ का १३ जिल्लाको राजधानी हेटौंडा तोक्ने तयारी विरुद्ध मंगलबार बिहान सदरमुकाम चरिकोट बजारमा पनि दोलखावासीले आज दबाब कार्यक्रम गरेका छन् । सत्तारुढ दल नेकपा सचिवालयको निर्देशन लगत्तै राजधानी हेटौंडा तोक्ने तयारी भएपछि आक्रोसित स्थानीयले मंगलबार सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका हुन्। भौगोलिक,आर्थिक र सडक पहुँचको हिसाले अपायक स्थानमा राजधानी तोक्न लागिएको भन्दै नागरिक दबाव अभियानले प्रदर्शन गरेको हो। सातदोबाटो चोकबाट शुरु भएको जुलुसले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो। जुलुसका सहभागीले पायक पर्ने स्थानमा राजधानी तोक्न र हालको अस्थायी राजधानी हेटौंडा खारेज गर्न माग गर्दै नारा जुलुस गरेका छन्। जुलुसपछि सातदोबाटो चोकमा आयोजित कोण सभामा नागरिक अभियन्ता चिरञ्जीवी मास्केले दोलखासहित १० जिल्लाका निम्ति हेटौंडा पायक नपर्ने बताउदै पायक पर्ने स्थानमा राजधानी तोक्न माग गरेका थिए। सभामा दोलखा उद्योग बाणिज्य संघका महासचिव हेमराज रिमालले दलीय स्वार्थमा लागेर जनविरोधी निर्णय नगर्न र जिल्लाका केन्द्रिय तहमा रहेका संसद हरुलाइ केन्द्र उपयुक्त ठाउमा राख्न आफ्नो कर्तव्य नभुल्न चेतावनी दिए। कार्यक्रममा नागरिक अगुवा दीपशंकर चौलागाईले दुई जिल्ला बाहेक अन्य ११ जिल्लालाई प्रदेश राजधानी भौगोलिक हिसाबले ठिक नभएको भन्दै तत्काल प्रदेश राजधानी हेटौंडा खारेज गरेर १३ जिल्लालाई पायक पर्ने स्थान तोक्न १३ जिल्लाका जनप्रतिनिधि लाई सुझाव दिएका छन्। यता नेकपा सचिवालयले भने केन्द्र सरकार संग राजधानी र नाम टुंगो लगाउन बुधबार छलफल गर्ने भएको छ । प्रदेश राजधानी र नामका विषयमा प्रदेशसभा सदस्यहरु बिभाजित भएर पार्टीको हृवीप उल्लंघन गर्ने चेतावनी दिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ कमिटीले शीर्ष नेतृत्वसँग छलफल गर्ने भएको हो।राजधानी सम्बन्धी पार्टी निर्णय कार्यान्वयन गराउन नसकेपछि प्रदेशसभा बैठक पुस २३ गतेलाई सारेर प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल र सचिव आनन्द पोखरेल काठमाडौं पुगेका छन्।