नयाँ दिल्ली ।
भारतमा संसदको बजेट सत्रको दोस्रो सत्रमा तेलको मूल्यलाई लिएर विवाद चर्किएपछि दुवै सदनको गतिविधि अवरूद्ध बनेको छ । तेलको मूल्यवृद्धिलाई लिएर दोस्रो दिन पनि विपक्षी पार्टीले सदन अवरुद्ध गरेपछि लोकसभा तथा राज्यसभाको बैठक बुधबारसम्मको लागि स्थगित गरिएको हो ।
दिउँसो १२ बजे लोकसभाको पूर्व निर्धारित कारबाही सुरु हुनेबित्तिकै विपक्षी सांसदहरुले सदन अवरुद्ध गरेंंका थिए । काँग्रेसका केही सांसदहरूले तेलको मूल्य फिर्ता लिनुपर्ने माग गरेका छन् । त्यही दिन कांग्रेसका नेता अधीर रञ्जन चौधरीले लोकसभा टेलिभिजनमा विपक्षीले भनेको कुरा नदेखाएको आरोप लगाएका थिए । उनले विक्षपीको कुरा लोकसभाको टेलिभिजनमा नआएको भन्दै आश्चर्य व्यक्त गर्नुभएको थियो ।
यता, लोकसभाका अध्यक्ष ओम बिड्लाले उक्त टेलिभिजनमा विपक्षीले देशलाई हंगामा देखाउन खोजेको हो भनी प्रतिप्रश्न गरेका छन्।त जवाफमा चौधरीले उक्त प्रदर्शन संसदीय कारबाहीको हिस्सा भएकाले देखाउनु पर्ने जिकिर गरेका छन् । राज्यको विधानसभा चुनावका कारण संसदको सत्रलाई छोट्याउन सक्ने भारतीय सञ्चार माध्यमहरुद्वारा प्रशारित समाचारमा उल्लेख गरिएको छ ।