काठमाडौं ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले मंगलबार नक्साल, काठमाडौंस्थित सभाहलमा भर्चुअल (जुम)को माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाका सञ्चालक समितिका अध्यक्ष शरदनिधि तिवारीको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्ष तिवारीले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
सभाले सामान्य प्रस्तावतर्फ आव २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरणसहितको वित्तीय विवरणहरू, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम संस्थाको २०७७ असार मसान्तको चुक्ता पुँजी एक अर्ब ५० करोडको शून्य दशमलव ६८ प्रतिशतले हुन आउने रकम एक करोड दुई लाख ६३ हजार एक सय ५८ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
सभाले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस संस्थाको आव २०७७/७८ को लेखापरीक्षण कार्यको लागि सोही ऐनको दफा १६५ (घ) बमोजिम लेखापरीक्षण समितिबाट सिफारिस भएबमोजिम सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेण्टसलाई लेखापरीक्षक नियुक्त गरेको छ ।
यसैगरी सभाले विशेष प्रस्ताव तर्फ सञ्चालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भएबमोजिम आव २०७६/७७ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने १९ करोड ५० लाखबराबरको बोनस सेयर जारी गर्ने, संस्थाको अधिकृत जारी तथा चुक्ता पुँजी वृद्धि प्रस्तावित बोनस सेयर जारी भएपश्चात् पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम संशोधन गर्ने, यस संस्थाले अन्य इजाजतप्रत्रप्राप्त ‘घ’ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरूलाई मर्जर तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति तथा समितले तोकेको व्यक्तिलाई पूर्ण अधिकार प्रत्यायोजन गर्ने, संस्थाको प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, संस्थाको प्रवन्धपत्र संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकताअनुसार सो मा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने आदि प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरेको छ ।
सो सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै सेयरधनीहरू अमृत नाथ रेग्मी, दामोदरप्रसाद रेग्मी, डमरु बल्लभ घिमिरे र इन्द्रकुमार श्रेष्ठले साधारणसभामा आफ्नो राय सुझाव पेस गरेका थिए । साधारणसभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्तले सेयरधनीहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिनुका साथै आफ्नो मन्तव्य दिएका थिए । वार्षिक साधारणसभामा पेस भएका सम्पूर्ण प्रस्तावहरू उपस्थित सेयरधनीहरूले सर्वसम्मतिबाट पारित गरेको घोषणा गरेका थिए ।