काठमाडौं ।
एनएमबी बैंकले नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सब्जी, फलफूल बजार, विराटनगरमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यता र एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको सभापतित्व रहेको उक्त कार्यक्रममा अतिथिगणहरू नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. नेफिल मताङ्गी मास्के, नेपाल राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिना, सब्जी, फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगत, युवा उद्यमी प्रदिपकुमार मुरारका, विराटनगर वडा नं. ११ का अध्यक्ष त्रिथेन्द्र न्योपाने, उक्त बजार व्यवस्थापन समितिका सचिव गुड्डु साहेवलगायत स्थानीय निकायका पदाधिकारीहरू, सुरक्षा निकाय, स्थानीय क्लबका सदस्यहरू, स्थानीय कृषि व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सो कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषी देवी भगतलाई १० लाख रुपैयाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृती पत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए । गर्भनर अधिकारीले नगद कमभन्दा कम प्रयोग गर्न आह्वान गर्दै क्यूआर कोड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका हुुन । बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रबिन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रूपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्यूआर कोडमार्फत साना तथा मझौला उद्यमीहरूलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।
‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरूप डिजिटलाइजेसनतर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरूमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिएका छन् ।