काठमाडौं ।
काठमाडौं उपत्यकामा सबैभन्दा धेरै कोरोना संक्रमित फेला पर्नथालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा कुल ४१ नयाँ संक्रमित फेला परेका छन् । त्यस्तै भक्तपुरमा १९ जना र ललितपुरमा पाँच जना गरी काठमाडौं उपत्यकामा एकै दिन ६५ जना संक्रमित फेला परेका छन् । बिहीबार देशभर एक सय २० जना मात्र संक्रमित फेला परेका थिए । मन्त्रालयका अनुसार दुई हजार आठ सय ९१ जनाको परीक्षण गर्दा एक सय २० जनामा कोरोना पोजेटिभ देखिएको हो । काठमाडौं उपत्यकापछि कास्कीमा नै १९ संक्रमित फेला परेका छन् भने दाङमा छ, मोरङ र रुपन्देहीमा चार÷चार जना संक्रमित भएका छन् ।
यस्तै, सल्यान र डोटीमा तीन÷तीन जना, तनहुँ, पाल्पामा दुई/दुई जना, खोटाङ, झापा, सुनसरी, पर्सा, चितवन, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, म्याग्दी, बाँके, कञ्चनपुर र कैलालीमा एक/एक जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेशगतरुपमा प्रदेश नं १ मा सात, प्रदेश नं २ मा एक, वाग्मतीमा ६८, गण्डकीमा २३, लुम्बिनीमा १३, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच संक्रमित फेला परेका छन् । हाल देशभरका क्वारेन्टाइनमा ५५ जना बसिरहेका छन् ।
यसैबीच मन्त्रालयले भारत तथा बेलायत, जर्मनी, फ्रान्सलगायतका देशमा कोभिड–१९ को संक्रमणको दर वृद्धि भएको र नेपालमा समेत यसको प्रभाव पर्नसक्ने भएकाले कोभिड– १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिसमक्ष केही सुझाव दिएको छ । सीसीएमसीले तराईका जिल्लामा नेपाल र भारतबीच सीमानाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्नुपर्ने सुझाव दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाई स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने भएको छ ।
हाल सञ्चालनमा रहेका नेपाल र भारतबीचका सीमानाकालाई कोभिड– १९ को संक्रमणको अवस्था हेरी पुनरवलोकन गर्ने र संक्रमण दर उच्च हुनपुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गर्न आग्रह गरिएको छ । गृह मन्त्रालयले पनि नाकाहरूमा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेको छ । यस्तै संक्रमण देखिएमा छुट्टै सवारीसाधनको प्रयोग गरी होम आइसोलेसनमा पु-याउने व्यवस्था मिलाउन जिल्लास्थित डीसीसीएमसीलाई निर्देशन दिने तथा स्थानीय तहबाट होम आइसोलेसनको निगरानी बढाउने भएको छ ।
त्यस्तै पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा स्वास्थ्यमा मापदण्ड अनिवार्यरुपमा पालना गर्न लगाउने, राति ९ः०० बजेपछि रात्रिकालीन कार्यक्रम बन्द गर्न लगाउने र यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नुपर्नेछ । यसैगरी विद्यालयमा कोभिड– १९ को संक्रमणबाट जोगिन स्वास्थ्यका मापदण्ड पालना भए नभएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत अनुगमन गर्न लगाउने स्वास्थ्य मन्त्रालयको सुझाव छ ।