काठमाडौं ।
नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेस क्लिनिक सञ्चालनमा ल्याएको छ । जसबाट सर्वसाधारण लगानीकर्ता, व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुका लागि निकै उपयोगी हुने देखिएको छ ।
बिजनेस क्लिनिक वित्तीय तथा लगानीका क्षेत्रहरुको सम्भावना तथा समस्याहरुलाई पहिचान गरी समाधान गर्न सुरु गरेको परामर्श सेवा हो । ग्राहकहरुले नबिल इ्रन्भेष्टमेन्टका लगानी विशेषज्ञहरुद्वारा आफ्नो लगानी तथा अन्य वित्तीय परामर्श लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनीकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने देखिन्छ ।
यस सेवाअन्तर्गत इक्विटी परामर्श, लगानी व्यवस्थापनसम्बन्धी परामर्श, कर्जा तथा ऋणसम्बन्धी परामर्श, पुँजी संरचनासम्बन्धी परामर्श, दैनिक कार्यसञ्चालन तथा पुँजी व्यवस्थापनसम्बन्धी वित्तीय परामर्श, व्यापार पुनर्संरचना/पुनर्गठनसम्बन्धी वित्तीय परामर्श, व्यापार/व्यवसाय विस्तारसम्बन्धी परामर्श, व्यापार सुरु गर्नेसम्बन्धी परामर्श, सम्पत्ति व्यवस्थापनसम्बन्धी परामर्श, पोर्टफोलियो संरचना निर्माणसम्बन्धी परामर्श, पोर्टफोलियो फेरबदल/पुनर्संरचनासम्बन्धी परामर्श, सेयर खरिदबिक्री गर्ने निर्णयसम्बन्धी परामर्श, निश्चित फिर्ती लगानीसम्बन्धी परामर्श, सम्पत्ति/धन व्यवस्थापनसम्बन्धी परामर्श, व्यापार रणनीतिसम्बन्धी परामर्श र बजारीकरण रणनीतिसम्बन्धी परामर्श सेवा लिन सकिने व्यहोरा कम्पनीले जानकारी गराएको छ ।
यस्तो सेवा नेपालमा हालसम्म कुनै पनि इन्भेस्टमेन्ट बैंकिङले प्रदान गरेको पाइएको छैन, यो सेवा विस्तार गर्ने नबिल इन्भेष्टमेन्ट बैंकिङ पहिलो संस्था हुन सफल भएको छ । जसले भविष्यमा व्यापार गर्न चाहने व्यापारीहरु वा आफ्नो व्यापारलाई रणनीतिक रुपमा विस्तार गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि निकै नै सहयोगी/फलदायी सिद्ध हुने देखिन्छ ।
यस्तो सेवा सार्वजनिक विदाको दिन र शुक्रबारबाहेक प्रत्येक दिनको ३ बजेदेखि दिनको ५ बजेसम्म सञ्चालनमा रहनेछ । एकपटक यो सेवा लिन आउँदा एक हजार रुपैयाँको टिकट काट्नुपर्नेछ । तर चैत महिनाको लागि यो शुल्क छुट गरिएको कम्पनीले जनाएको छ ।