काठमाडौं ।
एनआईसी एसिया बैंकले बीमा रकम भुक्तानी दिएको छ । बैंकले ग्राहकहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको हो । बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’को खाता खोलेकी काठमाडौंस्थित पानीपोखरी निवासी ५० वर्षीया आरती मानन्धरलाई घातक रोगको उपचारबापत उक्त रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले खातावालालाई बचत सँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।
हाल न्यू प्रिमियम सुपर चामत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ । यो बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्णरूपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्चबापत एक लाख (अस्पताल भर्नामा ८० हजार र बहिरङ्ग उपचारमा २० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरूले पाउन सक्नेछन् ।
बैंकको बीमासहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका चार सय २६ जनाभन्दा बढी ग्राहकहरूले बीमाबापतको दुुई करोड ६६ लाखभन्दा बढी रकम प्राप्त गरिसकेको बैंकले जानकारी दिएको छ । यसकिसिमका बीमासहितको बचत योजनाहरूबाट आम सर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको छ । (आर्थिक दैनिकबाट)