काठमाडौं ।
नेपाल राष्ट्र बैंकले सुनको दैनिक आयात कोटा हालको लागि २० किलो निर्धारण गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७६ लाई संशोधन गर्दै उक्त कोटाअनुसार सुन आयातसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सुन आयातसम्बन्धी व्यवस्थामा संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को बुुँदा नम्बर ४ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको हो । यसअघि भने राष्ट्र बैंकले कोरोना भाइरस (कोभिड १९) को महामारीको कारण देखाउँदै सुनको दैनिक आयात कोटा १० किलोसम्म तोकेको थियो ।