काठमाडौं ।
नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिजाल रेग्मी पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुुख एसएसपी अशोक सिंहका अनुसार रेग्मीलाई आइतबार काठमाडौंको दरबारमार्गबाट पक्राउ गरिएको हो । ‘उहाँविरुद्ध उहाँकै आमा ८४ वर्षीय शोशा रिजालले दिएको जाहेरीको आधारमा पक्राउ गरिएको हो’, एसएसपी सिंहले भने ।
एसएसपी सिंहका अनुसार रेग्मीविरुद्ध पहिला नै परिसरमा विभिन्न गुनासाहरु आएका थिए । सो विषयमा पटक–पटक उनलाई परिसरमा बोलाएर आमासँग समेत राखेर सम्झाई बुुझाई गरेको, छलफल गरेको भए पनि आमाको सम्पत्ति हडपे पनि हेरचाह गर्न तयार नभएपछि ८४ वर्षीया आमा रिजालकै जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसएएपी सिंहले बताए । परिसर प्रमुुख सिहंका अनुसार पक्राउ परेकी रेग्मीले रिजालको माछापुुच्छ्रे बैंकको लकरमा रहेको गरगहना, सिर्जना फाइनान्स, विभिन्न सहकारी संस्थाहरुमा रहेको सेयर समेत गरी झण्डै तीन करोड रुपैयाँभन्दा बढी सम्पत्ति हडपेको देखिएको छ ।
‘व्यक्ति जोसुकै होस्, पद जुनसुकै होस् एउटा जिम्मेवार नागरिकले आफ्नो ८४ वर्षीया आमाप्रतिको दायित्व पूरा नगरेको र उल्टै उनको करोडौँ सम्पत्ति हडपेर पनि बेवास्ता गरेको देखियो’, परिसर प्रमुख सिंहले भने । उनका अनुसार पक्राउ परेकी रेग्मीविरुद्ध ज्येष्ठ नागरिक ऐन २०६३ अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको छ ।
पक्राउ परेकी रेग्मीउपर आइतबार नै काठमाडौं जिल्ला अदालतबाट दुई दिनको लागि म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । ‘एउटा जिम्मेवार निकायको जिम्मेवार व्यक्तिले सम्पत्तिको लागि आफ्नै आमाप्रति देखाएको गैरजिम्मेवारी सायद कुनै पनि सन्ततिहरुले सोच्न सक्दैनन्’, होला परिसर प्रमुख सिंहले भने ।