काठमाडौं ।
नेपाल राष्ट्र बैंकले पुुनः २१ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही चैत १७ गते पनि राष्ट्र बैंकले आठ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
जारी मिति चैत २४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको एक सय ११ अर्ब रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७८ असार २२ गते, २०७८ असोज १५ गते र २०७८ चैत २२ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार बिक्री हुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत रहेको छ ।
यसअघि यही चैत १७ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ ।
सोअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा पनि ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउनेछ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको दोस्रो चौमासिकमा उठाइने आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।
यसैगरी चालू आवको तेस्रो चौमासिकमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी गरेको छ ।