काठमाडौं ।
वर्तमान राजनीतिक किचलो उत्पत्ति भएको प्रमुख कारणमा केही शीर्ष नेताको नेतृत्व क्षमतामा कमी कमजोरी भएको कारणले हो भनी सजिलै प्रमाणित गर्न सकिन्छ । दोस्रो कारणमा संविधान र वर्तमान राजनीतिक व्यवस्थामा भएको केही त्रुटि मान्न सकिएला । नेतृत्वको कुरा गर्दा विकसित मुलुकहरूमा भइरहेको नेतृत्वसम्बन्धी अध्ययन, विश्लेषण र अनुसन्धानबाट प्रतिपादित केही नयाँ अवधारणा र सिद्धान्तहरूको दृष्टिकोणबाट विश्लेषण गर्दा पनि नेपाली राजनीतिको मुख्य समस्या नै शीर्ष नेताहरुबाट सृजित भएको प्रमाणित हुन्छ ।
नयाँ अध्ययन विश्लेषणअनुसार नेतृत्व सीपलाई दुई कोटीमा विभाजन गर्न सकिन्छ– एक ठोस उत्पादनशील नेतृत्वका लागि चाहिने आधारभूत सीप र अर्को उच्च दर्जाको सक्रिय र प्रभावशाली नेतृत्व प्रदर्शित गर्न आवश्यक सीप । दोस्रो कोटीको सीप नभईकन कुनै पनि राजनीतिज्ञले जतिसुकै दिमाग लगाए पनि, जतिसुकै तिकडम दाउपेच खेले पनि राजनेता बन्न सम्भव छैन ।
आधारभूत नेतृत्व सीप हरेक पेशाको व्यवस्थापक, मेनेजर, उच्च पदाधिकारी, राजनीतिक कार्यकर्ता, नेतामा अनिवार्य रुपमा चाहिने गुण हो । आधारभूत नेतृत्व सीपभित्र भिजन, तीक्ष्ण मन, भविष्यको अनुमान गरी योजना बनाउने सीप, साहस, निर्णय गर्ने क्षमता, आपसमा खुला संवादको वातावरण निर्माण गर्ने कुशलता, अरूलाई प्रभाव पार्ने र प्रेरणा दिने कला, आफ्नो स्वार्थलाई समेत दाउमा राखेर खतरा मोल्न सक्ने सामथ्र्य, सबैलाई नतिजा–केन्द्रित बनाउन सक्ने सीप र सधैँ फुर्तिलो, सक्रिय भइराख्न स्वभाव पर्छन् । यी सीपहरू अध्ययन र तालिमबाट सिक्न सकिन्छ । तर केही व्यक्तिहरूको स्वभावमा नै यी गुण पर्याप्त मात्रामा भएको पनि हुन सक्छ र उनीहरूलाई जन्मजात नेताको रूपमा लिनुपर्ने हुन्छ ।
जुनसुकै व्यक्तिको जीवनमा कुनै पनि क्षेत्रमा तरक्की गर्न आधारभूत नेतृत्व सीप पर्याप्त भए पनि दोस्रो समूहको नेतृत्व सीप नभईकन उत्कृष्ट नेतृत्व प्रदर्शित गर्न सक्दैन र सम्पूर्ण राष्ट्रको जिम्मा लिने शीर्ष नेताहरुको हकमा त यो कोटीको नेतृत्व गुण अपरिहार्य रुपमा चाहिन्छ नै । यो दोस्रो कोटीको नेतृत्व सीपभित्र पर्ने गुणहरुमा आत्मबोध, आत्म व्यवस्थापन, निर्णयमा निष्पक्षता, पारदर्शिता, अरूको कल्याण गर्नेमा रुचि, सत्यनिष्ठा, विश्वसनीयता, मूल्य मान्यतामा आधारित सही मूल्यांकन, निरन्तर रूपमा ज्ञान प्राप्त गर्दै आफ्नो र अर्काको समेत सामथ्र्य र बौद्धिक क्षमता विकास गर्नेमा चासो आदि पर्छन् ।
विज्ञहरूले गरेको अध्ययन–अनुसन्धानमा विश्वका ठूलाठूला प्रख्यात नेताहरूमा दोस्रो कोटीको नेतृत्व सीपहरू प्रचुरमात्रा पाइएको प्रमाणित भइसकेको छ । हाम्रो मुलुकमा २००७ सालपछिको आधुनिक नेपालमा राज्यसत्ता सम्हालेका हरेक राजा र प्रधानमन्त्रीको नेतृत्व गुणमा यो दोस्रो कोटीको सीप के कति थियो वा थिएन सम्बन्धमा अध्ययन–विश्लेषण गरेमा वर्तमान र भावी नेताहरूले सुधार गर्दै अघि बढ्न मद्दत पुग्नसक्छ ।
उत्कृष्ट नेतृत्वको अर्को एक पक्ष सम्बन्धमा एक जना विद्वानले भनेका थिए– उत्कृष्ट नेतृत्वको पहिचान भनेको सकेजति बढी संख्यामा अरू नेता उत्पादन गर्ने हो, बढी अनुयायी उत्पादन गर्ने होइन । नेपालको गत ३१ वर्षको राजनीतिक गतिविधिलाई नियालेर हेर्दा हरेक पार्टीका हरेक शीर्ष नेताको मनसाय बढी अनुयायी उत्पादन गरी आफ्नो शक्ति र पराक्रम बढाउँदै आफ्नो समूह वा गुट तयार पार्नेजस्तो देखिन आएको छ । गत डेढ वर्षको नेपाली राजनीतिमा त यो विडम्बना झन् छताछुल्ल भएको जनताले प्रत्यक्षे रुपमा महसुस गरिसकेको छ ।
दोस्रो कोटीको नेतृत्व सीप प्रचुर मात्रामा भएका नेताहरुको हालीमुहाली नेपालको राजनीतिमा नभएसम्म कुनै पनि विचारधाराबाट मुलुकले फड्को मार्न सक्तैन । तर, तितो सत्य के छ भने विश्वको अन्य प्रजातान्त्रिक मुलुकहरूले सबल र उत्कृष्ट नेतृत्व क्षमता भएको नेता पाउन निकै समय लागेको धेरै उदाहरण छन् । हाम्रो प्रजातन्त्रमा राजनीतिक पार्टीहरूले राम्रा, असल र उत्कृष्ट नेतृत्व क्षमता भएका नागरिकलाई राजनीतिमा आकर्षित गर्न नसकेको एक ठूलो कमजोरी हो । पार्टीहरूले यस मामिलामा विशेष ध्यान दिएर आआफ्नो विधान, नियम, सोच, विचार र प्रवृत्तिमा ठूलो परिवर्तन ल्याउनैपर्छ, अन्यथा लोकतन्त्रिक व्यवस्थाबाट जनता झन्झन् निराश हुँदै जाने सम्भावना रहिरहन्छ ।
कुनै पनि राष्ट्रमा गम्भीर संकट आउँदा एक किसिमको भावनात्मक मार्गदर्शनका लागि सबै जनताको नजर सरकार प्रमुखलगायत वरिष्ठ राजनीतिक नेताहरूमा परिरहेको हुन्छ । हरेक दृष्टिकोणले हाम्रो मुलुक अहिले गम्भीर संकटमै भएको मान्नुपर्छ । तसर्थ तीन करोड जनताको आँखा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र ठूला पार्टीका शीर्ष नेताहरूमा पर्नु स्वाभाविक हो। जनता सधैं धैर्य गरेर चुपचाप बस्छन् भन्ने मान्यतामा जानु ठूलो गल्ती हुनेछ । आर्नोल्ड ग्लासो नामको एक अमेरिकी लेखकको भनाइअनुसार कसैको नेतृत्व क्षमता परीक्षण गर्ने एक मापदण्ड भनेको आपत्कालको स्थिति आउनुअगावै समस्या पहिचान गर्नसक्ने खालको दूरदृष्टि छ वा छैन हेर्ने हो । अहिलेको घडीमा हाम्रा शीर्ष नेताहरूले नेतृत्वसम्बन्धी नयाँ पुस्तकहरु पढ्नु राष्ट्रिय हितमा हुने निश्चित छ ।