काठमाडौं ।
नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको गरिमा विकास बैंकले नयाँ वर्ष २०७८ सालको आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको छ । यही चैत २६ गते बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बैंकको प्रधान कार्यालय लाजिम्पाटमा एक कार्यक्रममाझ आफ्नो आधिकारिक क्यालेन्डर सार्वजनिक गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले हाल ३५ जिल्लामा एक सय छवटा शाखा कार्यालयहरू एवं ५१ एटीएमबाट सरल, सुरक्षित तथा गुणस्तरीय सेवा दिँदै आइरहेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३९ करोड ३५ लाख ९० हजार ४१ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा ३२ करोड ५५ लाख ३५ हजार एक सय ३३ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी तीन अर्ब २३ करोड ८६ लाख ८९ हजार चार सय २८ रुपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा ५३ अर्ब पाँच करोड १८ लाख ३२ हजार एक सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ८४ करोड २६ लाख ३४ हजार चार सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । यस अवधिमा चार दशमलव ९९ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने २५ करोड २३ लाख ६१ हजार नौ सय ३२ रुपैयाँ रहेको छ ।
बैंकले गत आवको सोही अवधिमा ४२ अर्ब ४३ करोड ३० लाख २२ हजार दुुई सय २३ रुपैयाँ निक्षेप संकलन गरी ३४ अर्ब ८६ करोड १८ लाख ९६ हजार चार सय ३४ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८० करोड ६२ लाख एक हजार चार सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ३९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव २६ प्रतिशत रहेको थियो ।