काठमाडौं ।
आफैँले २०७५ पुस १२ गते शिलान्यास गरेको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरासँग नयाँ धरहरा सरकारले निर्माण गरेको हो ।
प्रधानमन्त्री ओलीले धरहरालाई नेपालीको भावना र गौरव, अतीत र इतिहास जोडिएको दाबी गरेका छन् । शनिबार आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहाससँग जोडिएको ऐतिहासिकस्थल पुनर्निर्माण हुनु देशकै लागि गौरवको विषय भएको बताएका हुन् ।
२०७२ वैशाख १२ गते धरहरा ढलेर निधन भएका ६० जनाको परिवारका एक/एक जना सदस्यलाई धरहरा परिसरमा निर्मित संरचनाका लागि आवश्यक जनशक्तिका रुपमा रोजगारी दिने घोषणा पनि प्रधानमन्त्री ओलीले शनिबार गरे । धरहरा क्षेत्रमा मिल्ने रोजगारी नभएमा अन्यत्र पनि मृतकका परिवारलाई प्राथमिकताका साथ रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
आयोजक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतले मुद्रा सङ्ग्रहालय, चौबीसै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना पनि निर्माण भइरहेको बताए ।
सुन्धारा क्षेत्रमा धरहरा, भूकम्प एवं मुद्रा सङ्ग्रहालय, आकाशेपुल, पार्किङ, बगैँचालगायत संरचना निर्माणका लागि पाँच अर्ब ७६ करोड लागत अनुमान गरिएकामा तीन अर्ब ४८ करोडको लागतमा ठेक्का भई काम भइरहेको छ । म बनाउँछु, मेरो धरहरा अभियानअन्तर्गत २४ करोड जम्मा भएको थियो । धरहरालगायत संरचना जीआईटीसी/रमण जेभी कन्स्ट्रक्सनले निर्माणको काम गरिरहेको छ ।