काठमाडौं ।
यस साता सेयर बजार परिसूचक २६ सय ४८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७६ दशमलव ६० बिन्दुमा पुगेर रोकिएको छ ।
यस साता धितोपत्र बजारमा दुई सय १६ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसअनुसार तीन लाख ७४ हजार पाँच सय ३१ पटकको कारोबारमा सात करोड २९ लाख १८ हजार नौ सय ६६ कित्ता सेयर खरिदबिक्री हुुँदा कुल कारोबार रकम ३२ अर्ब ७९ करोड ४६ लाख १३ हजार एक सय ७० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा निकै बढी हो ।
गत साता भने धितोपत्र बजारमा दुुई सय १८ वटा कम्पनीहरूको सेयर कारोबार भएका थिए । जसअनुसार दुई लाख ५२ हजार सात सय ९० पटकको कारोबारमा चार करोड ७५ लाख ३३ हजार सात सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम २३ अर्ब ३९ करोड छ लाख ४७ हजार सात सय नौ रुपैयाँ पुगेको थियो ।
यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो र चौथो दिन बजार परिसूचक ओरालो लागेको थियो भने तेस्रो र पाँचौं दिन बजार परिसूचक उकालो लागेको थियो ।
पहिलो दिन बजार परिसूचक ३५ दशमलव ८९ अंकले ओरालो लागेर २६ सय ९९ दशमलव ५१ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २९ बिन्दुले ओरालो लागेर चार सय ८६ दशमलव १६ बिन्दुमा झरेको थियो । दोस्रो दिन बजार परिसूचक ३७ दशमलव ५८ अंकले ओरालो लागेर २६ सय ६१ दशमलव ९३ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ बिन्दुले ओरालो लागेर चार सय ७९ दशमलव १० बिन्दुमा झरेको थियो ।
तेस्रो दिन भने बजार परिसूचक दुई दशमलव ६८ अंकले उकालो लागेर दुुई हजार छ सय ६४ दशमलव ६१ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव पाँच अंकले उकालो लागेर चार सय ७९ दशमलव ६० बिन्दुमा चढेको थियो ।
चौथो कारोबार दिन भने बजार परिसूचक ३२ दशमलव ४१ अंकले ओरालो लागेर दुुई हजार छ सय ३२ दशमलव २० बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव २१ अंकले ओरालो लागेर चार सय ७३ दशमलव ३९ बिन्दुमा झरेको थियो । अन्तिम कारोबार दिन भने बजार परिसूचक १५ दशमलव आठ अंकले उकालो लागेर दुई हजार छ सय ४८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले उकालो लागेर चार सय ७६ दशमलव ६० बिन्दुमा चढेको थियो ।
यस साता बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा एनआईसी एसिया लघुुवित्त वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, नबिल बैंक आदि परेका छन् । सेयर कारोबार भएको संख्याको आधारमा भने यस साता नेपाल क्रेडिट एण्ड कमर्स बैंक, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकलगायतका कम्पनीहरू अगाडि परेका छन् । बजार पुँजीकरणका आधारमा आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंकलगायतका कम्पनीहरू परेका छन् ।
सातामा आठवटा कम्पनीहरूको बोनस तथा हकप्रद सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यस साता आठवटा कम्पनीहरूको बोनस तथा हकप्रद सेयर नियमित कारोबारका लागि सूचीकृत भएका छन् । जसअनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको १३ प्रतिशतको अनुपातमा एक करोड ८८ लाख ८३ हजार सात सय ५० कित्ता, गरिमा विकास बैंकको पनि १३ दशमलव ५० प्रतिशतको अनुपातमा ४३ लाख ७२ हजार दुुई सय ३० दशमलव ७३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी नागरिक लगानी कोषको पनि ८२ दशमलव ८४ प्रतिशतको अनुुपातमा एक करोड ३५ लाख ९२ हजार पाँच सय ९२ कित्ता हकप्रद सेयर, साना किसान लघुुवित्त वित्तीय संस्थाको २५ लाख ७३ कित्ता बोनस सेयर एवं १२ हजार चार सय ४२ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेका अनुसार यसै साता १० करोड युनिट कुुमारी इक्विटी फण्ड पनि नियमित कारोबारका लागि सूचीकृत भएको छ ।
साधना लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशतको अनुपातमा तीन लाख ९२ हजार चार कित्ता बोनस सेयर, छ्याङ्दी हाइड्रोपावर कम्पनीको पाँच प्रतिशत अर्थात् एक लाख ४१ हजार सात सय ५० कित्ता बोनस सेयर र नारायणी डेभलपमेन्ट बैंकको पनि एक सय प्रतिशत अर्थात् छ लाख ५६ हजार एक सय ६९ कित्ता हकप्रद सेयर नियमित कारोबारको लागि नेप्सेमा सूचीकृत भएका छन् ।