काठमाडौं ।
२०७६ साल चैत ११ गतेदेखि सरकारले कोरोना नियन्त्रणका लागि भनेर लकडाउन घोषणा ग-यो । एक साताका लागि लगाएको लकडाउन पटक–पटक गरी तीन महिनाभन्दा बढी समय लगायो । त्यसपछि पनि विभिन्न नाममा बन्द भयो । तर, कोरोना नियन्त्रण हुनुको सट्टा झनै बढ्यो । अहिले पनि सरकारले क्षेत्र हेरेर लकडाउने गर्ने बताउन थालेको छ ।
लकडाउनको झल्को दिने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यावश्यकभन्दा बाहेकका काम बन्द गरिदिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेसनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगित गरिएको बताइएको छ । अन्य क्षेत्रमा पनि अब क्रमशः यसैगरी बन्द हुने आशंका सर्वसाधारणले गर्न थालेका छन् । बन्द नै गरे पनि कोरोना महामारी नियन्त्रण हुन नसकेको उदाहरण विगतको छ । त्यही भएर लकडाउन भन्दा स्वास्थ्यसम्बन्धी सर्तकता अपाउनुपर्ने माग पनि बढेको छ । तर, सरकार भने कार्यालय बन्द गरेर बस्ने दाउमा छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यो एक साताको अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसको सेवा भने सञ्चालन हुने जनाएको छ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्दो छ ।
बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ सेमेस्टरका परीक्षाहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।
संघीय सरकारले पनि सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा कुनै गतिविधि भए खबरदारीसहित कारबाहीको दायरामा ल्याउन आग्रह गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सूचनामार्फत व्यक्ति व्यक्तिबाट गर्नसक्ने भूमिकाबाट कसैलाई पनि विचलित हुन नदिन र खबरदारी गर्न अनुरोध गरेको छ । मन्त्रालयले आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै पनि कार्यक्रमका समाचार बनाउँदा मास्कको अनिवार्य प्रयोग गर्न, मास्कको प्रयोग नगर्ने व्यक्तिका समाचार वा सूचनालाई निरत्साहित गर्न मन्त्रालयले आग्रह गरेको छ ।
यसैबीच, आइतबार थप तीन हजार एक सय १२ जनामा कोरोना पुष्टि भएको छ । आइतबार थप २८ जनाको कोरोनाको कारण मृत्यु भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा तीन हजार ३२ जना र एन्टिजेट परीक्षणमा ९० जना कोरोना पुष्टि भएको हो । काठमाडौ उपत्यकमा मात्र एक हजार चार सय ९८ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा एक हजार एक सय ३२ जना ललितपुरमा दुई सय ७० जना र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
मन्त्रालयका अनुसार बाँकेमा तीन सय ५३ जना, ललितपुरमा दुई सय ७० जना, रुपन्देहीमा दुई सय नौ जना, सुर्खेतमा एक सय १८ जना, मोरङमा एक सय १० जना र कास्कीमा एक सय पाँच जनामा कोरोना एकै दिन पुष्टि भएको हो ।
आइतबारको तथ्यांक अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कास्की, रुपन्देही र सर्खुेतमा सक्रिय संक्रमितको संख्या पाँच सय नाघेको छ । सक्रमित पाँच सय नाघेका जिल्लामा लकडाउन लगाउने हल्ला चलेको छ । यसले गरिखाने सर्वसाधारण नागरिक बढी त्रसित भएका छन् । विगतमा पनि लकडाउन गर्दा गरिखाने वर्ग पीडित बनेका थिए । तर, कोभिड नियन्त्रणमा भने आउनसकेको थिएन ।