झन्डै एक महिनाअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले क्रसर व्यवसायीलाई नदी उत्खनन नगर्न निर्देशन दिएका मात्र थिएनन् कि पहाड फुटाएर गिटी, ढुंगा, बालुवा निकाल्न सुझाव पनि दिएका थिए । शक्तिशाली सरकारका अर्थमन्त्री डा. खतिवडाको उक्त निर्देशन त्यसै खेर नजाने आम बुझाइ थियो । तर, उक्त निर्देशन कसरी कार्यान्वयन हुने होला भन्ने शंकाचाहिँ सबैमा थियो, किनकी पहाड फुटाउन पैसा, प्रविधि र युवा जनशक्ति आवश्यक पर्दछ । हाम्रो मुलुकमा प्रविधिको त्यति धेरै विकास भइसकेको छैन, मुलुक पनि गरिब छ, पैसा प्रशस्त छैन, सहयोग मागेर खर्च चलाउनुपर्ने अवस्था छ । प्रविधिको विकास नभएकाले यहाँ विकास निर्माण हुन सकेका छैनन् ।
युवा जनशक्ति बेरोजगार छ र पचास लाखभन्दा बढी युवाहरू रोजगारीका लागि विदेश पलायन भएका छन् । मुलुकका लागि योभन्दा विकराल अवस्था अर्को नहुन सक्दछ । यस्तो मर्जर र विकराल अवस्थाबाट गुज्रिएको मुलुकका अर्थमन्त्री डा. खतिवडाले नदी उत्खनन गरेर बालुवा र गिटी झिक्न बन्द गरेर पहाड फुटाएर गिटी र बालुवा आपूर्ति गर्न दिएको निर्देशनलाई कसै–कसैले त पुस १६ गते पानीजहाज चढ्न आउनू भनेर प्रधानमन्त्री केपी ओलीले निम्ता गरेजस्तै भनेर उडाउने दुस्साहस पनि गरे । तर, यी दुई फरक कुरा हुन् । गिटी, ढुंगा र बालुवा पहाड फुटाएरै निकालिने चिज हुन् । तर, मुलुकले त्यसो गर्न सामर्थ्य राख्छ कि राख्दैन भनेर हेरिनु पर्ने थियो । त्यसका लागि आवश्यक चार कुरामध्ये पहाडबाहेक हामीसँग अरु केही छैन ।
त्यसकारण अर्थमन्त्री डा. खतिवडाको उक्त निर्देशन कार्यान्वयन हुने अवस्था छैन । अर्थमन्त्री खतिवडाको उक्त उद्घोषपछि धनुषाको मिथिला नगरपालिका ५ भीपुरका दिलिप भनिने ओमप्रकाश महतोले नदीबाट बालुवा र गिटी निकाल्ने कार्यको विरोधलाई झनै तेजिलो बनाए । अर्थमन्त्री डा. खतिवडाले त्यसरी नबोलेको भए ओमप्रकाश त्यसरी विरोधमा उत्रिने थिएनन् । विरोधमा उत्रिँदा बालुवा तस्करले उनलाई मारिदियो । मन्त्रीहरूले कार्यान्वयन गर्न नसक्ने कुरा यसरी बोल्नु हुँदैनथियो । तर, हाम्रा मन्त्रीहरूलाई माइकअगाडिको जनमानस हेरेर बोल्ने रोग नै लागेको छ भन्दा पनि हुन्छ । अर्थमन्त्री डा. खतिवडाले कार्यान्वयन गर्न नसक्ने भाषण खोक्दा एक जना होनाहार युवाको हत्या भएको छ । तर, पनि अर्थमन्त्री डा. खतिवडाले आफ्नो गल्ती स्वीकारेका छैनन् ।