काठमाडौ ।
नेपाली कांग्रेसका सभापति एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाको सङ्क्रमण रोक्न जतिसक्दो धेरै खोपको व्यवस्था मिलाउन सरकारसंग माग गरेका छन् । मुलुक दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको चपेटामा परेको वर्तमान परिस्थितिलाई थप जटिल हुन नदिन उनले तत्काल नियन्त्रणका हर सम्भव उपाय गर्न समेत सरकारसँग आग्रह गरेका छन् । साथै उनले सङ्क्रमितहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकारलाई गम्भीर हुन पनि माग गरे ।
सभापति देउवाले सोमबार एक विज्ञप्ति जारी गर्दै आम नागरिकहरुलाई कोभिड–१९ को सङ्क्रमणवाट सुरक्षित राख्न कोरोनाविरुद्धको खोप सबैभन्दा भरपर्दो उपाय भएको उल्लेख गर्दै त्यसतर्फ सरकारले समयमा गम्भीर नहुनाले खोपको समुचित व्यवस्था हुन नसकेको बताए । देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न अझ ठूलो सङ्ख्यामा खोपको आवश्यकता रहेकाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनैतिक सक्रियता बढाउन पनि उनले सरकारसँग माग गरे ।
भारतबाट शुरुमै १० लाख निःशुल्क खोप प्राप्त भएका कारण ठूलो राहत महसुस भएको उनको थियो । पछि चीनबाट पनि आठ लाख खोप निःशुल्क प्राप्त भई वितरण भइरहेको बताउँदै उनले उक्त सहयोगका लागि दुवै मित्रराष्ट्रलाई धन्यवाद समेत दिए । विकसित राष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकताभन्दा पनि बढी सङ्ख्यामा अग्रिम बुकिङ सुरक्षित गरेको अवस्थामा अग्रिम बुकिङ गर्न नसकेका नेपाल जस्ता देशहरुलाई बुकिङ भएको सङ्ख्या मध्येबाट खोप सुविधा उपलब्ध गराउन पनि सम्बन्धित मित्रराष्ट्रहरुसँग उनले अनुरोध गरेका छन् ।
मुलुकमा पछिल्ला समय कोभिड–१९ सङ्क्रमण दर तीव्र गतिमा बढेको र सङ्क्रमणबाट गम्भीर बिरामी भएर आइसियु र भेन्टिलेटरको आवश्यकता पर्नेको सङ्ख्या पनि बढ्दो छ । अहिले युवाहरुमा पनि सङ्क्रमण उल्लेख्य रुपमा बढेको र सङ्क्रमितको उपचार पूरा गर्न मुलुकको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको उनले उल्लेख गरेका छन् । सभापति देउवाले कोभिड–१९ बाट सुरक्षित हुन, अनिवार्य मास्क लगायतका सुरक्षा व्यवस्था र सङ्क्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुसरण गर्न पनि सम्पूर्णमा अनुरोध समेत गरेका छन् । (आर्थिक दैनिकबाट)