काठमाडौं ।
मेगा केबलनेट प्रालिका हर्ताकर्ता सञ्चालक बद्री पोख्रेलले अहिले साहु भएपछि अहिले आफूले जस्तै गरी भ-याङ बोकेर काम गर्ने मजदुरमाथि श्रमशोषण गरेको आरोप लागेको छ । आफूसरह लगानी गरेको श्याम पौडेललाई अफिसभित्र छिर्नै नदिई लखेटेका पोख्रेलले मेगा केबल नेटमा काम गर्ने मजदुरहरुलाई पनि आफ्नो तावेदारी नगर्दा दिनुपर्ने तलब सुविधा नै नदिई रित्तो हात घर पठाएका छन् । त्यसरी निकालिनेमा रघुनाथ लामिछाने र सानुबाबु खतिवडा रहेका छन् भने निकालिने पाइपलाइनमा दिपिका खकुरेल, सीता ठकुरीलगायत छन् ।
गत १२ गते लामिछाने र खतिवडाले सेवा अवकाशपछि पाउनुपर्ने सुविधाबापतको सञ्चयकोष, उपदान, घरविदा, बिरामी विदाको रकम उपलब्ध गराइपाऊँ भनी मेगा केबल नेटका अध्यक्ष तथा प्रबन्धनिर्देशक पोख्रेलसमक्ष निवेदन दिएका छन् ।
श्रम तथा रोजगार कार्यालय टेकुलाई त्यसको बोधार्थ गराएका छन् । रघुनाथ लामिछानेले मेगा केबल नेटबाट र सञ्चयकोष, उपदान, घरविदा, बिरामी विदालगायतको एक लाख १८ हजार पाउनुपर्ने दाबी गरेका छन् भने सानुबाबु खतिवडाले झण्डै ६८ हजार रुपैयाँ पाउनुपर्ने दाबी गरेका छन् ।
दश हजार रुपैयाँ तलबमा महिनाभरि घोटाउँदै आएका पोख्रेलले उनीहरुले सेवासुविधाको रकम माग्न थालेपछि ठाडो आदेशमा जागिरबाट निकालेको आरोप लागेको हो । कम्पनीमा काम गर्नै नसक्ने अवस्था सिर्जना गराई पोख्रेलले उनीहरुलाई बाध्यतामा पारेर राजीनामा दिन विवश बनाएको आरोप छ । उनीहरुले बाध्यतामा परेर चैत ७ गते राजीनामा दिए पनि मेगा केबलले एक महिना बितिसक्दा पनि मजदुरलाई उनीहरुले पाउनुपर्ने रकम दिएका छैनन् ।
विगतको आफ्नो हैसियत बिर्सिएका पोख्रेलले अहिले मजदुरलाई उनीहरुले पाउनुपर्ने सेवा सुविधा केही नदिई राजीनामा दिन विवश बनाएर कसरी रित्तो हात घर पठाउनसकेका होलान् !