काठमाडौँ ।कोरोना संक्रमितको संख्या दिनहुँ थपिँदै गर्दा सरकारले अक्सिजन र अस्पतालमा बेडको अभाव भएको भन्दै सबै नागरिकलाई आफ्नो स्वास्थ्य सुरक्षा आफैँ गर्न आग्रह गरेको भोलिपल्टै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले काठमाडौं उपत्यकामा एक हजार बेड थप्ने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकोले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने जनाएको थियो । त्यसलाई सर्वसाधारणले सरकारले कोरोना संक्रमितको उपचार गर्न सक्दिनँ भनेर हात उठायो भनेर आलोचना गरेपछि मन्त्री त्रिपाठीले सामाजिक सञ्जालमा भिडिओ सन्देशमार्फत आतंकित नहुन भन्दै कोरोना संक्रमितको सबै जिम्मा सरकारले लिएको र आफ्नो प्रतिबद्धता पूरा गर्ने जनाएका हुन् । मन्त्री त्रिपाठीका अनुसार काठमाडौं उपत्यकामा मात्रै आइतबारदेखि एक हजार बेड कोरोना संक्रमितका लागि थप गरिनेछ ।
अस्पतालले शय्या उपलब्ध गराउन नसकिने भइसकेको भनेर स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीले विज्ञप्ति जारी गरेको भोलिपल्ट शनिबार मात्रै देशभर पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना परीक्षण अझै कम भएको कारण संख्या पनि कम देखिएको बताइएको छ । पछिल्लो समयमा भीडभाडमा जाने मानिसहरुमा कोरोना संक्रमण तीव्र रुपमा भइरहेको छ । सहरी क्षेत्रमा ज्यान दुख्ने, ज्वरो आउने अधिकांशमा कोरोना देखिएको छ । तर, सबैले परीक्षण गराएका छैनन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार १४ हजार नौ सय ६९ नमूना परीक्षण गरिएकामा पाँच हजार सात सय ६३ जनामा कोभिड–१९ पुष्टि भएको हो । यस्तै, उपचारपछि निको भएर घर फर्किने एक हजार दुई सय ८७ जना रहेका छन् भने शनिबार मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर ४० हजार एक सय तीन जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा तीन हजार एक सय १० छन् । पछिल्ला २४ घण्टामा दुई हजार चार सय ५५ महिला र तीन हजार दुई सय ५१ पुरुष संक्रमित भएका छन् । काठमाडौँमा एक हजार नौ सय ३२ जना सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ । यस्तै, भक्तपुरमा दुई सय आठ र ललितपुरमा तीन सय ५५ सङ्क्रमित फेला परेका छन् । यस्तै, चार सय एक जना आईसीयूमा उपचाररत छन् भने एक सय १० जना भेन्टिलेटर रहेका छन् ।
कोरोना संक्रमण तीव्र वृद्धि गर्दा नेपालका २९ वटा जिल्लामा आंशिक र पूर्ण निषेधाज्ञाको घोषणा गरिएको छ । थप सात जिल्लामा आइतबारदेखि निषेधाज्ञा कार्यान्वयनमा आउने जनाइएको छ । २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ ।
सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।
सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा दुई सय र काठमाडौँ उपत्यका तथा तराईमा पाँच सय सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्नसक्ने अधिकार दिएको थियो ।शनिबार गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्युठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको छ ।
घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ पाँच सय मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ पाँच सय मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको पाँच सय मिटर दायाँबायाँ, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मङ्गलदारसम्मको दायाँबायाँ दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । उक्त आदेश आइतबार राति १२ बजेदेखि कार्यान्वयन हुने जनाइएको छ ।
यस्तै, गोरखाको भीमसेन थापा गाउँपालिका–७ र ८ मा शनिबार राति १२ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतबार बेलुका ८ बजेदेखि लागू हुने गरी निषेधको आदेश जारी गरिएको छ । यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिबार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डडेल्धुरामा आइतबार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ ।
बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ ।