काठमाडौं ।
नेपाल राष्ट्र बैंकले वैशाख २७ गते अर्थात् आज सोमबार पुनः आठ अर्ब १८ करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार यस दिन अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही वैशाख २० गते पनि राष्ट्र बैंकले दुई अर्ब २० करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
राष्ट्र बैंकका अनुसार जारी मिति वैशाख २८ गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको छ अर्ब र तीन सय ६४ दिने अवधिको दुु्ई अर्ब आठ करोड रुपैयाँको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुुने अवधि भने क्रमशः २०७८ साउन २६ गते, २०७८ कात्तिक २३ गते र २०७९ वैशाख २७ गते तोकिएका छन् । राष्ट्र बैंकका अनुसार बिक्री हुुने उक्त ट्रेजरी पुरानो नवीकरणअन्तर्गत हो ।
यसअघि गत साता अर्थात् वैशाख २० गते पनि राष्ट्र बैंकले ९१ दिने अवधिको १० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार सोमध्ये ९१ दिने अवधिको १० करोड रुपैयाँ बराबरको ट्रेजरीको लागि एक अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरीको लागि १५ अर्ब ७० करोड रुपैयाँबराबरको बोलकबोल परेको थियो ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षभित्र दुई खर्ब २५ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण परिचालन गर्ने उद्घोष गरेको छ । यसअघि अर्थात् चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पनि ५७ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले चालू आवको दोस्रो चौमासिकमा थप ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाएको थियो । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
चालू आवको दोस्रो चौमासिकमा उठाइएको आन्तरिक ऋणको लागि राष्ट्र बैंकले १३ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ४० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र, दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गरेको थियो ।
यसैगरी चालू आवको तेस्रो चौमासमा भने राष्ट्र बैंकले एक खर्ब १२ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउनेछ । यसको लागि राष्ट्र बैंकले ४९ अर्ब ५० करोड रुपैयाँबराबरको ट्रेजरी बिल, ६० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र दुई अर्ब रुपैयाँबराबरको नागरिक बचतपत्र र ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्ने तयारी राष्ट्र बैंकले गरेको छ ।