वासिङटन ।
अप्रिल महिनामा संयुक्त राज्य अमेरिकामा दुई लाख ६६ हजार नयाँ रोजगारी सिर्जना भएको श्रम तथ्यांक ब्युरोले जनाएको छ । ठूलो सरकारी राहत प्याकेजका बाबजुद सोचेभन्दा कम रोजगारी सिर्जना भएको हो ।
ताजा तथ्यांकअनुसार बेरोजगारी दर ६.१ प्रतिशत रहेको छ । अर्थात् अमेरिकामा अझै ९८ लाख मानिसहरु बेरोजगार रहेका छन् ।
सन् २०२० को फेब्रुअरीमा लकडाउनअघि दशौँ लाख मानिसहरु बेरोजगार भएका थिए । सो समयमा ५७ लाख मानिसहरु कामविहीन भएका थिए । मार्च महिनामा बाइडेन प्रशासनले १९ खर्ब डलरको राहत प्याकेज ल्याएको थियो ।
पछिल्लो तथ्यांक अर्थशास्त्रीको अनुमानभन्दा तल रहेको बताइएको छ । अर्थशास्त्रीहरुले नौ लाखदेखि २० लाखसम्म रोजगारी सिर्जना हुनसक्ने भविष्यवाणी गरेका थिए । मार्चमा सात लाख ७० हजार रोजगारी सिर्जना भएको थियो ।
यसैलाई आधार मानेर अमेरिकामा आर्थिक पुनरुत्थान भइरहेको आकलन गरिएको थियो । तर ताजा तथ्यांक त्यसविपरीत देखिएपछि चिन्ता सुरु भएको छ ।