बाँके ।
पछिल्लो समय बाँके कोरोनाको ‘हटस्पट’ बनेको छ । संक्रमित अत्याधिक बढेसँगै बाँकेमा अक्सिजनको अभाव देखिएको छ । बाँकेमा अक्सिजनको अभावलाई मध्यनजर गर्दै संघीय सांसद महेश्वर गहतराजले बाँकेका तीनवटा स्थानीय तहलाई अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।
कोरोना महामारीको चपेटमा परेको बाँकेवासीको सुविधाका लागि सांसद अथकले ३० लाख रकम छुट्याउने बताएका हुन् । बाँके निर्वाचन क्षेत्र नं–१ बाट निर्वाचित उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत कोहलपुर, नरैनापुर र राप्तीसोनारी गाउँपालिकालाई अक्सिजन खरिदका लागि ३० लाख रकम उपलब्ध गराउन लागेका हुन् ।
सांसद गहतराजका सचिवालय सचिव शिव सुनारका अनुसार कोहलपुर नगरपालिकालाई १५ लाख, नरैनापुर गाउँपालिकालाई १० लाख र राप्तीसोनारी गाँउपालिकालाई पाँच लाख रकम विनियोजन गरिएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत तत्काल अक्सिजन सिलिन्डर खरिदका लागि ३० लाख रकम छुट्याइएको सुनारले जानकारी दिए ।