काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा एक सय बेड सञ्चालन गरेका निजी अस्पताललाई १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर्न भनेर दिएको निर्देशनप्रति एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले आपत्ति जनाएको छ ।
सीमित साधन–स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमित बिरामीहरूको उपचार सेवामा केन्द्रित गरिरहेको अवस्थामा अत्यावश्यक साधनस्रोत राज्यले उपलब्ध गराउनुको साटो १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गर भन्नु गैरजिम्मेवार निर्णय भएको अफिनको भनाइ छ ।
अफिनका अध्यक्ष वसन्त चौधरीले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ महामारीका कारण देशभरि नै अक्सिजनको अभाव भएको अवस्थामा अक्सिजनको द्रुत ढुवानीको अरू कुनै विकल्प नभएको बताएका छन् ।
‘हाल लगभग देशभरि नै निषेधाज्ञा जारी रहेको र अन्तर्राष्ट्रिय हवाइ सेवा पनि बन्द रहेका छन् । अक्सिजन प्लान्ट भनेको बजारबाट टप्प टिपेर जडान गर्ने उपकरण हैन । विश्वको कुनै पनि उद्योगले खरिद सम्झौतापछि तीन महिना नभई प्लान्ट तयार गरिदिने अवस्था रहँदैन । प्लान्ट भित्रिएपछि सोको जडान गर्न कम्तीमा १५ दिन लाग्ने हुन्छ’, विज्ञप्तिमा भनिएको छ ।
एक सय शय्याको अस्पतालका लागि नेपाल सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि दुई करोड पर्ने र सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुने अफिन अध्यक्ष चौधरीले बताए । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम नरहेको उनको भनाइ छ ।
यस्तो गम्भीर समयमा सरकारले अक्सिजन व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्नुको सट्टा निजी अस्पतालहरूलाई १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्नु भन्दै हावादारी निर्देशन दिएर सरकार आफ्नो दायित्वबाट विमुख हुनु आश्चर्यको विषय भएको उनले बताए ।
देशैभर अक्सिजन अभावको वर्तमान समस्या समाधान गर्न सरकारको तर्फबाट विशेष कदमहरु चालिनुपर्ने र उक्त प्रयासमा सरकारको कदममा कदम मिलाई साथ दिन निजी अस्पतालहरु तयार रहेको अफिनले जनाएको छ । कोभिडका कारण देशले भोग्नुपरेका समस्या समाधानका लागि आफ्नो तहबाट सम्पूर्ण सामथ्र्यका साथ योगदान गर्न निजी अस्पतालहरू अहोरात्र खटिरहेको र आगामी दिनमा पनि यस महामारीसँग जुध्न सकारले चालेका कदमहरूलाई साथ दिन हरदम तयार रहेको अफिनको भनाइ छ ।