काठमाडौं ।
नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा पाँच सय ३६ अक्सिजन सिलिन्डर संकलन गरेको छ । तीमध्ये दुई सय सय ३७ वटा भरिएका र दुई सय ९९ खाली सिलिन्डर रहेका छन् ।
संकलन गरिएका पाँच सय ३६ वटा र यसअघिको स्टक एक सय नौवटा गरी जम्मा छ सय ४५ वटा सिलिन्डरमध्ये आइतबार पाँच सय ८६ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ । बाँकी रहेका ५९ वटा अक्सिजन सिलिन्डरहरू जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार वितरण गरिने प्रहरीको भनाइ छ ।
प्रहरीले आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो । प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म आठ हजार सात सय ३९ सिलिन्डर संकलन गरी कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराएको छ ।