काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र सञ्चालनमा अनिल ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंगलबार बसेको तीन सय ६२औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव संगालेका ज्ञवालीलाई असार एक गतेदेखि लागू हुनेगरी बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । सुदेश खालिङको राजीनामापछि रिक्त हुनगएको स्वतन्त्र सञ्चालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित ज्ञवालीले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् ।
सहायक प्रबन्धकबाट बैंकिङ पेसा सुरु गरेका ज्ञवालीसँग विदेशी बैंकको उच्च ओहदामा रही कार्यसम्पादनका साथै नेपालका ठूला दुईवटा वाणिज्य बैंक तथा नेपाल पूर्वाधार बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गरेको लामो अनुभव रहेको छ । फिलिपिन्सबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ज्ञवालीसँग अन्तर्राष्ट्रिय बैंकमा काम गरेको अनुभव समेत रहेको छ ।
बैंकले हाल देशैभरि फैलिएका आफ्ना एक सय ६८ वटा शाखा, एक सय ११ वटा एटीएम र एक सय नौवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब १० लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटल च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ ।
यसलाई मूर्तरूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी गरेको छ ।
यसप्रकारको सेवाबाट डिजिटल बैंकिङ सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ । व्यावसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यावसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरूका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।