काठमाडौं ।
चुनावको मिति घोषणा गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सिफारिसमा गए राति दुई चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।
राष्ट्रपति भण्डारीले निर्वाचनको मिति तोकेपछि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत अन्य आयुक्तसंँग छलफल गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र संवैधानिक प्रतिवाद गर्ने
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा(एमाले)को नेपाल समूह र जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव समूहले प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेका छन् ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको ती राजनीतिक दलको संयुक्त बैठकले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै असंवैधानिक तरिकाले प्रतिनिधिसभाको विघटन गरिएको जनाउँदै विपक्षीले संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेका हुन् ।
बैठकपछि ती राजनीतिक दलले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा प्रतिनिधिसभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी भएको जनाउँदै निन्दा गरिएको छ । प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक अनिश्चय, अन्योल र अराजकता सिर्जना भएको जनाउँदै ती दलले एकताबद्ध भई राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।