जनकपुरधाम, माघ ५
जनकपुरधाम विमानस्थलबाट माघ ६ गतेदेखि रात्रिकालीन उडान हुने भएको छ । रात्रिकालीन उडानका लागि तयारी पूरा भएपछि पहिलो र दोस्रो चरणको टेस्ट सम्पन्न भएको अवस्थामा माघ ६ गतेदेखि बुद्ध एयर उडान सुरु गर्ने जनाइएको छ । जनकपुरधाम विमानस्थलमा बुद्ध एयरको विमान जेठ महिनामा पहिलो टेष्टिङको रुपमा अवतरण गरेको थियो भने दोस्रो परीक्षण यसै साता गरिएको छ ।
यसअघि नै रात्रिकालीन सेवा सुरु गर्न आवश्यक रहेको ‘रनवे लाइट’ र ‘आईएफआर’ जडान भएर जाँच समेत भइसकेको बुद्ध एयरका जनकपुर प्रमुख विजय सिंहले जानकारी दिए । रात्रिकालीन सेवा सुरु हुँदा सानोतिनो काम भएकाहरु सोही दिन काम गरेर फर्किन सक्ने जनकपुरधामका व्यवसायीहरु बताउँछन् । अहिले दैनिक बुद्ध एयरको दुईवटा उडान भइरहेको छ भने यतिको पनि दुईवटा उडान रहेको छ । रात्रिकालीन सेवा सुरु भएसँगै बुद्ध एयरले दैनिक तीनवटा उडान सुरु गरेको छ ।