कराची ।
पाकिस्तानले चालू आर्थिक वर्षको ११ महिनामा १२ अर्ब अमेरिकी डलरभन्दा धेरै पैसा सापटी लिएको छ । गत वर्षको उही अवधिको तुलनामा यो रकम ६३ प्रतिशतले बढी भएको डन अनलाइनले जनाएको छ । यसले कीर्तिमानी विप्रेषण आप्रवाह र उच्च निर्यातका बाबजुद विदेशी विनिमयको माग उच्च रहेको देखाएको छ ।
चालू आवको जुलाई–मे महिनामा सरकारले १२ अर्ब १३ करोड अमेरिकी डलर सापटी लिएको हो । अघिल्लो वर्षको सोही अवधिमा उसले सात अर्ब ४४ करोड डलर सापटी लिएको थियो । यो भनेको चार अर्ब ६८ करोड डलर अर्थात् ६२.८ प्रतिशतले बढी हो । आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको मे महिनाको तथ्यांकअनुसार अघिल्लो वर्षभन्दा यो वर्ष सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन धेरै रकम सापटी लिएको बताइएको छ ।
यसमध्ये उक्त रकममध्ये झण्डै आधा व्यावसायिक ऋणका रुपमा सापटी लिइएको छ । यसको अर्थ त्यो रकमको ब्याजदर उच्च हुन्छ । उक्त ब्याजदर एसियाली विकास बैंक, विश्व बैंक र इस्लामिक डेभलपमेन्ट बैंकले दिनेभन्दा धेरै बढी हुने बताइएको छ । पाकिस्तानले विविध क्षेत्रबाट ऋण लिएको हो । त्यसमा वाणिज्य बैंकहरुबाट मात्रै तीन अर्ब ६१ करोड डलर ऋण लिएको छ ।