काठमाडौं । नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवा सुरु गरेको छ । बैंकका अनुसार निश्चित आयस्रोत एवं भुक्तानी क्षमताको आधारमा ग्राहकको दैनिक जीवनमा आइपर्ने विभिन्न आवश्यकता पूरा गर्न सहयोग पु-याउने उद्देश्यले बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरिएको हो । यो सुविधाअन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा २० हजार रुपैयाँदेखि अधिकतम सीमा पाँच लाख रुपैयाँसम्म कायम गरिएको छ ।
भिसा इन्टरनेशनलसँगको आबद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोगबाट पस टर्मिनल, एटीएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ । स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म यस बैंक तथा भिसा इन्टरनेशनलमा आबद्ध बैंंकहरूको एटीएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिनेछ । यो कार्डको प्रयोग नेपाललगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता सहजता आउने विश्वास बैंकले गरेको छ ।
भर्चुअल विधिबाट गरिएको कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले यस बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुभारम्भ गरे । शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधिमार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडि आउन सफल भएकोमा खुशी व्यक्त गर्दै यो सेवा प्रारम्भका लागि बैंक व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद तथा बधाई दिए ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका सदस्य विवेक शम्शेर जबराले नयाँ विशेषतासहितको क्रेडिट कार्ड सेवाप्रारम्भ गरेकोमा सम्पूर्ण बैंक परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरे । बैंकको क्रेडिट कार्ड ग्रहण गर्दे निर्मल प्रधानले बैंकको पहिलो क्रेडिट कार्ड ग्राहक बन्ने अवसर प्राप्त भएकोमा प्रशन्नता व्यक्त गर्दै बैंक व्यवस्थापनलाई धन्यवाद दिनुका साथै क्रेडिट कार्ड सेवाको सफलताको शुभकामना समेत व्यक्त गरे ।
बैंक सञ्चालक समितिका सदस्यहरू, सहायक प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुख, डिभिजन प्रमुख, प्रादेशिक कार्यालयका प्रमुख तथा शाखा प्रबन्धकहरूको समेतको भर्चुअल माध्यमबाट सहभागिता रहेको उक्त कार्यक्रमलाई प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले समेत सम्बोधन गर्दै क्रेडिट कार्ड सेवाको विस्तारमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागीहरूलाई बैंकका कामु नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तले स्वागत गरेका थिए । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब २६ करोड २२ लाख ७७ हजार तीन सय १० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ९९ करोड ६५ लाख ८३ हजार एक सय ५१ रुपैयाँ रहेको थियो ।
चुक्ता पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार छ सय २४ रुपैयाँ रहेको बैंकले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक खर्ब ५१ अर्ब ६० करोड आठ लाख ३६ हजार आठ सय पाँच रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब २७ अर्ब ९२ करोड ९८ लाख २१ हजार नौ सय ३९ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार अर्ब ७१ करोड ४० लाख ६८ हजार एक सय १५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३७ प्रतिशतको स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने एक अर्ब ४७ करोड ४६ लाख ५२ हजार आठ सय दुई रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ४१ अर्ब ५३ करोड तीन लाख ८० हजार पाँच सय ६९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब ३० करोड ३७ लाख ५२ हजार चार सय ५८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार अर्ब २१ करोड ८२ लाख ४६ हजार सात सय रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर चार दशमलव ४९ प्रतिशत रहेको थियो ।