काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको छ । आयोगको सोमबार बसेको बैठकले स्वीकृत गरेको निर्वाचन कार्यतालिकाअनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ । उक्त समयभित्र दल दर्ता गर्न आयोगले सबै राजनितिक दलहरूलाई आग्रह समेत गरेको छ ।
सरकारले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ गते शुक्रबार पहिलो चरण र मंसिर ३ गते शुक्रबार दोस्रो चरणमा निर्वाचन गर्ने घोषणा गरेको थियो । आयोगले सरकारले घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य–मुख्य क्रियाकलाप समेटिएकोे कार्यतालिका सार्वजनिक गरेको हो ।
आयोगका अनुसार पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम असोज २१ गतेदेखि २६ गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम असोज ३१ गतेदेखि कात्तिक ५ गतेसम्म सञ्चालन हुनेछ । यस्तै मतदाताहरूको अन्तिम मतदाता नामावली मिति भदौ २३ गते प्रकाशन हुने आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको आयोगले जनाएको छ । यसैगरी आयोगले साउन १ गते निर्वाचनको लागि आयोगमा दर्ता रहेका राजनीतिक दलहरूसँग छलफल गर्ने बताएको छ ।
एमालेबाहेक मुख्य राजनीतिक दलहरूले भने सरकारले असंवैधानिकरूपमा प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा उत्रेका छन् । हाल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । सर्वोच्चले सोमबार उक्त मुद्दाको फैसला असार २८ गते सुनाउने निर्णय गरेको छ ।