ढाका ।
बंगलादेशमा लागू भइरहेको कडा लकडाउन फेरि एक हप्ताका लागि थप गरिएको छ । बंगलादेश सरकारले लकडाउन थप गर्ने निर्णय सोमबार गरेसँगै बंगलादेशमा यही जुलाई १४ तारिखसम्म लकडाउन लागू हुने भएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआइसकेकाले लकडाउनलाई कडा बनाउँदै निरन्तरता दिनुपरेको सरकारी अधिकारीहरूले जनाएका छन् । सरोकारवाला तथा विज्ञहरूसँग परामर्श गर्दा उनीहरूले अझै पनि लकडाउन थप्नुपर्ने सुझाव दिएकाले लकडाउनलाई निरन्तरता दिने निर्णय गरिएको सरकारले जनाएको छ ।
कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा यही जुलाई १ देखि सात दिने कडा लकडाउन घोषणा गरिएको थियो । बंगलादेशमा गत आइतबार कोरोनाभाइरसका कारण एकै दिनमा अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीका अनुसार आइतबार एकैदिनमा बंगलादेशमा कोरोनाका कारण एक सय ५३ जनाको मृत्यु भएको छ ।
मृतकको संख्या अत्यधिक बढेपछि कडा लकडाउन लगाउन बाध्य हुनुपरेको सरकारी अधिकारीहरूले बताउने गरेका छन् । बंगलादेशमा कोरोनाका कारण अहिलेसम्म १५ हजार ६५ जनाको मृत्यु भएको छ । त्यसैगरी बंगलादेशमा कोरोनाका कारण अहिलेसम्म नौ लाख ४४ हजार नौ सय १७ जना संक्रमित भएका छन् । तीमध्ये आठ हजार छ सय ६१ जना पछिल्लो २४ घण्टामा थपिएका जनाइएको छ ।