हाइटी । अमेरिकी सरकारले शुक्रबार थप १४ चिनियाँ कम्पनीलाई व्यापार प्रतिबन्धको सूचीमा राख्ने निर्णय गरेको छ । सिनच्याङ उइगुर क्षेत्रमा मानवअधिकार उल्लङ््घनमा उनीहरूको संलग्नता हुनुको कारण ती कम्पनीहरूलाई प्रतिबन्धको सूचीमा राखिएको एनएचके वल्र्डले अमेरिकी वाणिज्य विभागलाई उद्धृत गर्दै सम्प्रेषित समाचारमा उल्लेख छ ।
धेरै चिनियाँ कम्पनीहरूले उच्च–प्रबिधि निगरानी प्रणाली प्रस्ताव गरेका कम्पनी पनि अमेरिकाको यो सूचीको हिस्सा भएका छन् । एनएचके वल्र्डले रिपोर्ट गरे अनुसार प्रतिबन्धित यी कम्पनीहरूले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) को उइगुर र यस क्षेत्रका अन्य जातीय अल्पसंख्यक समुदायविरूद्ध सामूहिक हिरासत र उच्च प्रविधिको निगरानीको अभियानलाई सक्षम पारेको आरोप अमेरिकाको छ ।
रिपोर्टअनुसार अमेरिकी वाणिज्य मन्त्री जीना राइमन्डोले अमेरिकी मन्त्रालय सिनच्याङमा मानव अधिकार उल्लङघन गर्ने संस्थालाई लक्षित गर्न कडा र निर्णायक कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् । बाइडेन प्रशासनले ‘बेइजिङको मानवअधिकार उल्लंघन’विरूद्ध कडा कदम चालेको एनएचकेले बताएको छ । दुई महिनाअगाडि अमेरिकाले पाँच चिनियाँ सौर्य प्यानल कम्पनीहरूलाई सिनच्याङ– उइगुर क्षेत्रमा जबर्जस्ती श्रम प्रयोग गरेको आरोप लगाउँदै प्रतिबन्धित सूचीमा जोडेको थियो ।
चिनियाँ सरकारले उक्त आरोपलाई अस्वीकार गर्दै यी प्रतिबन्धहरू झूटा आरोपमा आधारित रहेको बताएको पनि एनएचके वल्र्डद्वारा सम्प्रेषित समाचारमा उल्लेख छ । चीनले युगुर मुसलमानहरूलाई असमान व्यवहार नगरेको दावी गर्दै आएको छ ।