काठमाडौं । जिल्लाको बैतेश्वर गाउँपालिकाले विद्यालयको आधारभूत तहमा आफ्नो पालिकाभित्रको पहिचान झल्काउने नयाँ पाठ्यक्रम लागू गरेको छ । गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार पारेको उक्त स्थानीय पाठ्यक्रम लागू गर्न गाउँपालिका अध्यक्ष छवि लामालाई पाठ्यक्रम हस्तान्तरण समेत गरेको छ ।
नयाँ पाठ्यक्रम चालू वर्षदेखि नै लागू हुने गरी तयार पारेको बैतेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश राम पोख्रेलले जानकारी दिए । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको नाम बैतेश्वर पहिचान स्थानीय संस्कृति र सम्पदाको संरक्षण रहेको छ । आधारभूत तहअन्तर्गत कक्षा १ देखि कक्षा ८ सम्म सो पाठ्क्रम पढाइ हुनेछ ।
स्थानीय पाठ्यक्रम निर्माण समितिको तर्फबाट हनुमन्तेश्वर माध्यमिक विद्यालयका शिक्षक भरत केसीले पालिका प्रमुख तथा शिक्षा समिति संयोजक छवि लामालाई पाठ्यक्रम हस्तान्तरण गरेका थिए । पाठ्यक्रममा स्थानीय तहको परिचय, स्वास्थ्य र सरसफाइ, खाद्यान्न र पोषण, स्थानीय मातृभाषा संस्कृति र चाडपर्व, धार्मिक सास्कृतिक र पर्यटकीय स्थललगायतका १३ वटा स्थानीय विषयवस्तु समेटिएको गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।