अमेरिका । अर्बपति सर रिचार्ड ब्रान्सन आफ्नै कम्पनीले विकास गरेको नवीनतम प्रविधियुक्त विमानमा अन्तरिक्षसम्म पुगेर पृथ्वीमा फर्किएका छन् । बीबीसीका अनुसार भर्जिन गालाक्टिकको रकेट विमान भीएसएस युनिटीबाट ब्रान्सनले सफलतापूर्वक अन्तरिक्षको शून्य गुरुत्व अनुभव गरी पृथ्वीमा फर्किएका हुन् । बेलायती यी उद्यमीले अमेरिकाको न्यु मेक्सिकोमाथि तीव्र रफ्तारको उडान गरेका हुन् । भर्जिन गालाक्टिकले १७ वर्षदेखि यस्तो यानको विकास गरिरहेको थियो ।
सफल उडानलगत्तै उनको प्रतिक्रिया थियो– यो अनुभव मेरो जीवनकालकै अविस्मरणीय रह्यो । उडानमा उनीसँगै रहेका सबै सकुशल पृथ्वीमा अवतरण गरेको बताइएको छ । योसँगै उनी पहिलो अन्तरिक्ष पर्यटक बनेका छन् । अरु अर्बपतिहरु पनि अन्तरिक्ष जाने योजनामा रहेका बेला उनीहरुलाई ब्रान्सनले पछि पारिदिएका हुन् । टेस्लाका एलन मस्क र अमेजनका जेफ बेजोसले पनि अन्तरिक्ष घुम्ने महत्वाकांक्षा पालेका छन् ।
ब्रान्सनले कति उचाइ माथि पुगेको भन्ने आधिकारिक तथ्यांक पर्खिरहेको बताए । तर ८५ किमि माथिसम्म पुगेको अनुमान गरिएको छ । उनीसँगै युनिटीका दुई पाइलटहरु डेभ म्याके र माइकेल मासुची र कम्पनीका तीन कर्मचारीहरु बेथ मोसेस, कोलिन बेनेट र सिरिसा बन्डला समेतले उडानमार्फत अन्तरिक्ष यात्रा गरेका छन् ।
यसको सबै खर्च ब्रान्सनले नै अन्तरिक्ष पर्यटनको परीक्षणका रुपमा गरेका हुन् । अर्को वर्षदेखि अन्य अन्तरिक्ष पर्यटकलाई टिकट काट्न थालिने अनुमान गरिएको छ । त्यसका लागि छ सय व्यक्तिले डिपोजिट गर्न थालिसकेका छन् । उनीहरुले काट्ने टिकटको शुल्क साढे दुई लाख अमेरिकी डलरसम्म लाग्ने बताइएको छ ।
यो विमानबाट यात्रामा जानेहरुले पाँच मिनेटसम्म कम तौल अनुभूति लिनसक्नेछन् ।
रिचार्ड ब्रान्सनलाई यो सफलता भेट्टाउन लामो यात्रा गर्नुपरेको बताइएको छ । सन् २००४ मा ब्रान्सनले पहिलोपटक अन्तरिक्ष विमान बनाउने इच्छाजाहेर गरेका थिए । त्यतिबेला उनको विश्वास सन् २००७ मै व्यावसायिक सेवा सुरु गर्नेतिर थियो । तर प्राविधिक कठिनाइ, विमान विकासका दौडान भएका दुर्घटना (सन् २०१४)लगायत कारण अन्तरिक्ष परियोजनाले ठूलो चुनौती झेल्यो ।
ब्रान्सन आफू सानै छँँदादेखि नै अन्तरिक्ष जान चाहन्थे । उनले अबको सय वर्षमा हजारौँ मानिसलाई अन्तरिक्ष पु¥याउने बताएका छन् । अन्तरिक्ष निकै असाधारण रहेको उनको भनाइ छ । त्यहाँ पुगेर मानिसहरुले पृथ्वी साँच्चै कस्तो छ हेरून् र आफ्नो घर फर्कियून् भन्ने उनको इच्छा छ । पछिल्लो समय केही गन्न सकिने कम्पनीहरु अन्तरिक्ष पर्यटनमा जोड दिइरहेका छन् ।
सन् २००० को दशकमा सात धनी व्यक्तिहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) पुगेका थिए । अहिले सिज भइसकेको (सन् २००९) रुसी यानबाट उनीहरु त्यहाँ पुगेका थिए । तर अहिले भने अमेजनका संस्थापक जेफ बेजोस र क्यालिफोर्नियाका उद्यमी एलन मस्कले यस्तै परियोजना अघि बढाइरहेका छन् ।
रुसले पनि फेरि आईएसएसमा व्यावसायिक उडान गराउन लागिपरेको छ । कतिपयले त निजी अन्तरिक्ष स्टेसन नै बनाउन चाहिरहेका छन् । त्यहाँ मानिस लैजाने उनीहरुको इच्छा छ । त्यसमध्ये अमेरिकी अन्तरिक्ष संस्था नासाका एक पूर्वप्रोग्राम मेनेजरले स्थापना गरेको कम्पनी एजियम पनि एक हो । ब्रान्सनलाई अन्तरिक्षमा जानुअघि जेफ बेजोसले शनिबार नै सफलताको शुभकामना दिएका थिए ।